अस्ट्रेलियाको पर्थमा प्रमोद खरेल एण्ड परम्पराको भव्य कन्सर्ट, झुमे हजारौँ नेपाली

...

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल र उनको परम्परा ब्याण्डले अस्ट्रेलियाको पर्थमा भव्य कन्सर्ट गरेको छ। गत शनिबार, अक्टोबर १० मा एनआरएनए पर्थको आयोजनामा भएको नेपाल फेस्टिभलमा हजारौँ नेपाली दर्शकको उपस्थिति थियो।

चिसो मौसम र सिमसिमे वर्षाले पनि दर्शकको उत्साहलाई रोक्न सकेन। नेपाली पोसाकमा सजिएका र राष्ट्रिय झण्डा बोकेका दर्शकले कन्सर्टलाई थप विशेष बनाएका थिए। प्रमोदका गीतमा झुमिरहेका दर्शक वर्षा सुरु हुँदा झन् उत्साहित देखिए। केही मिनेट परेको सिमसिमे पानीमा पनि उनीहरू उफ्रिँदै, नाच्दै र गीतमा रमाउँदै थिए।

वर्षाका कारण ब्याण्डले केही समय संगीत मात्रै बजाएर प्रस्तुति अघि बढाएको थियो। केही मिनेटमै पानी रोकिएपछि फेरि गीतसंगीतले माहोल तताएको थियो। प्रतिकूल मौसममा पनि दर्शकले देखाएको यो उत्साहले कन्सर्टलाई थप यादगार बनाएको थियो।

pramod and parampara band in australia purth

पर्थको प्रस्तुतिलाई विशेष अनुभूति गरेको गायक प्रमोद खरेलले बताए। नेपाल फेस्टिभलमा नेपाली पोसाक र राष्ट्रिय झण्डासहित उपस्थित दर्शक देख्दा बेग्लै अनुभूति भएको उनले बताए। साथै, नेपाली मनलाई अझ नजिकबाट चिन्ने र बुझ्ने अवसर पाएको उनको भनाइ थियो।

प्रमोदले आफ्नो चर्चित गीत ‘हङ्गामा भो’ बाट कन्सर्ट सुरु गरेका थिए। त्यसपछि ‘झुमा झुम्का वाली’, ‘यो कुरा गोप्य’ लगायतका गीत प्रस्तुत गर्दै पछिल्लो समय लोकप्रिय बनिरहेको ‘कर्णाली सलल’ सम्मका करिब दुई दर्जन गीत गाएर दर्शकलाई मनोरञ्जन दिए।

परम्परा ब्याण्डको व्यस्तता भने अझै जारी रहनेछ। ब्याण्डको टोली मंगलबार नेपाल आइपुग्नेछ। त्यसपछि दसैँका अवसरमा अक्टोबर १९ र २० मा असम टुरमा निस्किने कार्यक्रम छ। तिहारपछि भने प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड पुनः ‘सुरताल म्युजिकल टुर’मा सहभागी हुनेछ।