जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ आजबाट प्रदर्शन

...

माघ, काठमाडौँ । चलचित्र ‘ह्यारी कि प्यारी’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । कलाकार जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य अभिनय रहेको यो चलचित्र आजबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हो । बिभिन्न मल्टिप्लेक्स हलहरुमा केहिदिन अघिदेखी नै बुकिंग खुला गराएका थिए । 

क्युएफएक्स चेनले शुक्रबार बिहानसम्म २३ शो दिएको छ । जसमा काठमाडौंको सिभल मल, भक्तपुर, नेपालगन्ज, नारायणगढमा आजका लागी तीन-तीन शोज दिइएको छ । साथै अन्य सिंगल थिएटरमा यो चलचित्रले राम्रै स्थान पाउनसक्ने अपेक्षा गरिएको छ । अन्य नेपाली चलचित्र यतिबेला हलमा नभएकाले पनि दर्शकको उपस्थिती राम्रो हुनसक्ने निर्माण पक्षले आशा राखेको छ । 

बलिउडको ‘पठान’ भने नेपाली चलचित्रहरुमा प्रदर्शन जारी छ । क्युएफएक्स चेनले ‘पठान’लाई आज शुक्रबारमात्रै पनि ५० शोज दिएको छ । यसरी हेर्दा ‘ह्यारी कि प्यारी’ पनि ‘पठान’कै चेपुवामा परेको देखिन्छ । आज र भोलीको ‘ह्यारी कि प्यारी’मा आउने दर्शकको संख्या हेरेर हलहरुमा शोज बढाउन वा घटाउन सक्छन् । त्यसका लागी चलचित्रले कस्तो ‘पिकअप’ लिन्छ भन्नेमा भरपर्छ । निर्माण टिमले शोज टाइमको पोष्टर बनाएर सेयर गरेको छ । जसमा बिभिन्न हलले ५३ शोज दिएको देखिन्छ । क्युएफएक्स चेन र अन्य मल्टिप्लेक्सहलको शोजपनि रहेका छन् ।

hyari-ki-pyari-show-time.jpg

प्रिमियरमा राम्रो प्रतिक्रिया
गएको मंगलबार साँझ काठमाडौंमा ‘ह्यारी कि प्यारी’को प्रिमियर गरिएको थियो । जहाँ उपस्थित सेलिब्रेटीहरुले चलचित्रका लागी सकारात्मक प्रतिक्रिया दिएका थिए । उपस्थित अधिकांश कलाकारले दर्शक तान्न सक्ने भन्दै खुलेरै प्रशंगा गरे । यसरी सेलिब्रेटीबाट आएको प्रतिक्रियाले पनि दर्शकलाई हलसम्म तान्न सहज पक्कै बनाउँछ । तर सेलिब्रेटीका प्रतिक्रियाले मात्रै चलचित्र चल्छ भन्नु मुर्खता हुन्छ । प्रिमियरमा आएका सेलिब्रेटीले मिडियाका अगाडी जस्तोसुकै चलचित्रलाई पनि राम्रै प्रतिक्रिया दिएको पाइन्छ । 

डा. भोला रिजालको निर्माण रहेको चलचित्र उनका छोरा डा. कपिल रिजालले लेखन तथा निर्देशन गरेका हुन् । रोमान्टिक–कमेडी जनरामा निर्माण चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल लगायतको पनि अभिनय छ ।