बेलडाँगी पुगेका रामकृष्ण ढकाल भन्छन्, बालबालिकाको पढ्ने अधिकारप्रति सरकारको ध्यान जावस्

...

माघ, काठमाडौँ । झापाको बेलडाँगी पुगेका लोकप्रिय गायक रामकृष्ण ढकालले बालबालिकाको पढ्न पाउनुपर्ने अधिकारप्रति सरकारले ध्यान दिनु आवश्यक भएको बताएका छन् । उनले बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा रहेका बालबालिकाहरुको लागी नक्षत्र फाउन्डेशनले बनाएको विद्यालयको भवन परिसरमा पुगेर यस्तो बताएका हुन् । 

नक्षत्र फाउन्डेशनले बनाएको विद्यालयको भवन परिसरमा आयोजना गरिएको कार्यक्रममा गायक ढकालले बालबालिकाको हक र अधिकारबारे बोलेका हुन् । उनले बिशेषगरी बालबालिकाको पढाईमा सरकारले गहन तरिकाले सोच्नुपर्ने बताए । भविष्यका लागी सानैदेखी सोच्नुपर्नेमा जोड दिए । उनले, कार्यक्रममा आफ्ना लोकप्रिय गीतहरु ‘बिहान उठ्ने वित्तिकै, चरीले त छाडेर गैहाल्यो, जदौं माया जदौं’ लगायत गाएर सुनाएका थिए ।

२ सय भन्दा बढी बालबालिकाले यो सेन्टरमा शिक्षा पाइरहेका छन् । कार्यक्रममा गायक ढकालसँगै चर्चित कलाकार सुनिल थापा, नायिका पूजा शर्मा, गायिका एलिना चौहान, निर्देशक विधान कार्की, गायक कर्मा ग्याल्छोङ लामा, गायिका जमुना राई, गायक विकास लिम्बु लगायत पुगेका थिए ।

artist in beldangi.jpg

उक्त बिद्यालयमा केही शिक्षक–शिक्षिकाले थोरै पारिश्रमिकमा बालबालिकालाई अध्यापन गराएर सहयोग पनि गरिरहेका छन् । उनै, शिक्षक–शिक्षिकाहरुको सम्मानका लागि शनिबार विद्यालय परिसरमा कार्यक्रमको आयोजना गरिएको थियो । अमेरिकामा बस्दै आएका अर्जुन सुवेदीले विगत ३ बर्षदेखि ‘अर्ली चिल्ड्रिेन डेभलपमेन्ट सेन्टर’मा पक्की भवन बनाएर १ कक्षासम्मको अध्ययनमा सहयोग गरिरहेका छन् ।

कार्यक्रममा बोल्दै नक्षत्र फाउन्डेशनका प्रमुख अर्जुन सुवेदीले भने–‘हाम्रो उद्देश्य भनेको नै साना बालबालिकाहरु पढाईको अधिकारबाट बञ्चित नहुन् भन्ने हो । यसैले, हामीले फाउन्डेशनको सहयोगमा यहाँ बालबालिकाहरुलाई पढाइरहेका छौं । तर, यो काम हामीले मात्र सधैभरी गर्न संभव छैन । नेपाल सरकारले पनि यो कुरामा ध्यान दिओस् र बालबालिकालाई पढ्नबाट बञ्चित नगराओस् भन्ने चाहना छ ।’

arjun subedi.jpg

उनले, सरकारी तवरबाट कुनै पनि सहयोग नमिलेको पनि बताए । कार्यक्रममा पुगेका विशिष्ट अतिथी सुनिल थापाले बालबालिकाको सहयोगका लागि सरकारले पनि ध्यान दिनुपर्ने तर्क गरे ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का कृषी मन्त्री भक्ति प्रसाद सिटौलाले सरकारले विद्यालय संचालनमा पूर्ण सहयोग गर्ने बताए ।