‘आराध्या’: परिवारको रेखदेख नपाउँदा बच्चाको मनोभावमा पर्ने असर

...

माघ, काठमाडौँ । एक ब्यस्त परिवार, त्यहि परिवारभित्र हुर्किरहेको एक बच्चा । आमाबुबाबाट पर्याप्त रेखदेख पाइरहेको हुँदैन । त्यो बच्चाको मनोभाव, उसको दिमागमा पर्ने असर । यिनै कुराहरुलाई समेटिएको सर्ट फिल्म हो ‘आराध्या’ । राम्रो इन्टरटेनमेन्ट युट्युव च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको यस सर्ट फिल्मले नेपाली शहरको समुदायलाई केन्द्रित बनाएको बुझ्न सकिन्छ । यसले पछिल्लो समय ब्यस्त शहरमा बस्ने ब्यस्त परिवार भित्रको कथा बोकेको छ । ‘आराध्या’ लाई संचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । उनले यसअघि पनि हनिमुन, डार्क मुन, एक लभर लगायत झण्डै दर्जन सर्ट फिल्म र केहि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

प्रणय दिवस (भ्यालेनटाइन डे)को अवसर पारेर सार्वजनिक गरिएको ‘आराध्या’मा अभिभावकहरु पेशा ब्यवसायमा संलग्न भएको हरेक सहरीया परिवारको कथा देखाएको र उनीहरुलाई सोच्न बाध्य पारेको निर्देशक ज्ञवाली बताउँछन् । फिल्मको कथा निर्देशक ज्ञवाली र आर्यन अधिकारीले लेखेका हुन् ।

aradhya-movie.png

सर्ट फिल्ममा चर्चित अभिनेता आमिर गौतमले बुवाको र अभिनेत्री सुरविना कार्कीले आमाको अभिनय गरेका छन् भने बाल कलाकार द्रोस्टी शाहले छोरीको भुमिकामा खेलेकी छिन् । त्यसैगरी सफु बुढाथोकी, नारायण कंडेल, प्रान्जल पौडेल, सृष्टि भुषाल लगायतका कलाकारको अभिनय पनि सर्ट फिल्ममा देख्न सकिन्छ । यसअघि यो फिल्मको गीत “मिठी पापा” र टिजर सार्वजनिक भएका थिए । पत्रकार जीवन भण्डारीले लेखेको गीतमा बाल गायीका आरसी शाहको स्वर रहेको छ । 

सर्ट फिल्म एकसाताको समयमा काठमाडौंको आसपासमा खिचिएको निर्देशक ज्ञवालीले जानकारी गराए । उनका अनुसार यस सर्ट फिल्म केहि अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागी गराइएको छ । फिल्मका प्रमुख सहायक निर्देशक बाबुराम निरौला हुन् भने युवराज घिमिरेले सहायक निर्देशकको जिम्मेवारी सम्हालेका थिए । 

फिल्मलाई नहकुल खड्काले सम्पादन र संकल्प भुजेलले खिचेका हुन् । सर्ट फिल्ममा निशा खनालको मेकअप, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, योगेशकाजीको ब्याकग्राउण्ड म्युजिक रहेको छ । इन्जिनियर सन्जित कुमार शाहको लगानी, बिशाल निरौलाको म्युजिक तथा एरेन्ज रहेको सर्ट फिल्म राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।