‘फूलबारी’ले पायो प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

...

माघ, काठमाडौँ । चलचित्र ‘फूलबारी’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्रको बिहीबार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर गरियो । जहाँ थुप्रै सेलिब्रेटी र सन्चारकर्मिले चलचित्र हेरेका थिए । पारिवारीक कथामा निर्माण गरिएको यो चलचित्रले परिवार भित्र सन्तान र आमा, बुबा प्रतिको मायालाई देखाएको छ । 

चलचित्र हेरिसकेपछि अधिकांश सेलिब्रेटीले आफूलाई भावुक बनाएको भन्दै उत्कृष्ट प्रतिक्रिया दिए । चलचित्रमा मुख्य कलाकार बिपिन कार्की, प्रियंका कार्की, दयाहाङ राई, अरुणा कार्कीको अभिनयले तानेको छ । अभिनेता आयुष्मान देशराज जोशीले चलचित्रको दर्शकलाई एकदम बाधेर राख्न सक्ने बताए । निर्देशक रामबाबुको कामले आफूलाई तानेको भन्दै चलचित्रले रुवाउन खोजेको बताए । यस्तै निर्देशक दीपेन्द्र के. खनालले चलचित्रको सिनेमाटोग्राफि, कलाकारको काम र निर्देशकिय पाटोको खुलेरै प्रशंसा गरे । पशुपतिप्रसादको स्मरण कत्तिको गर्नुभयो भन्ने प्रश्नमा खनालले पशुपति मन्दिर परिसरका दृश्य देख्दा मज्जा आयो भन्ने प्रतिक्रिया दिए । 

अभिनेत्री निशा अधिकारीले चलचित्रले आफ्नो परिवारको महत्व बुझाएको बताइन् । उनले चलचित्र फूलबारीलाई सुपरहिट भनिन् । उनले भनिन्, ‘शहरिया परिवेशमा बसेर कत्तिले परिवारलाई बिर्सेका थियौँ होला । यो चलचित्रले सम्झाउनेछ । चलचित्र हेर्दा मज्जाले रुवाउँछ, जीवनको मागदौडमा बिर्सेका भावनाहरुलाई फेरी झक्झकाउनेछ ।’

साथै चलचित्रका कलाकार बिपिन कार्कीले चलचित्रबारे अन्य सेलिब्रेटीले दिएको प्रतिक्रियामा आफू खुसी रहेको भन्दै सबैलाई धन्यवाद ब्यक्त गरे । उनले दर्शकलाई एकपटक परिवारसहित यो चलचित्र हेर्न आग्रह गरे । साथै निर्देशक गुरुङले पनि दर्शकको साथ पाउनेमा अपेक्षा राखे । 

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित चलचित्रमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटारअनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको चलचित्रमा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।