दर्शकको साथ पाउँदै ‘फूलबारी’

...

फागुन, काठमाडौँ । गएको शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘फूलबारी’ले दर्शकको साथ पाइरहेको छ । पछिल्लो केहि साता नेपाली चलचित्रमा दर्शक नभइरहेको अवस्थामा ‘फूलबारी’ले सुखद ब्यापार गरिरहेको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्रले शुक्रबारै मध्यम व्यापार गरेर राम्रो संकेत दिएको थियो ।

प्रिमियर र शुक्रबार प्राप्त सकारात्मक प्रतिक्रियाले चलचित्रको व्यापारमा सहयोग पुर्यायो । शनिबार बिहानी शोजमा ५० प्रतिशत आसपासको अकुपेन्सी पाएको सिनेमा दिउँसोदेखि बेलुकासम्म हाउसफुल रह्यो । 

शनिबार क्युएफएक्सले १०, एफक्युबले ३,  बिएसआर मुभिजले २, वान सिनेमाजले २ र सिनेप्लेक्स मुभिजले १ शो थप गरेका थिए । जुन आइतबारपनि यथावत छन् ।

चलचित्रको शनिबार र आइतबारको व्यापार उत्साहजनक रहेको वितरक गोविन्द शाहीले बताए । ‘महाशिवरात्रीको विदामा दर्शक हलसम्म पुग्नु भएको छ । काठमाडौँदेखि देशैभर सिनेमाले हाउसफुलको व्यापार गरिरहेको छ । मल्टिप्लेक्सदेखि सिंगल थियटरसम्म दर्शकको चाप छ । सिनेमाको ‘वर्ड अफ माउथ’ दमदार भएकाले यसले बक्सअफिसमा लामो रेस पुरा गर्नेमा आशावादी छौं ।’ शाहीले भने ।

पारिवारिक कथा पस्किने चलचित्रलाई दर्शकले उत्कृष्ट भनिरहेका छन् । हलमा सपरिवार सिनेमा हेर्नेको चाप देखिएको छ । भने प्राय उमेर समूहलाई यसले आकर्षित गरेको छ । दर्शकले यसलाई मनछुने पारिवारिक कथा भनेका छन् ।

हेर्ने जति दर्शकले चलचित्र रुचाएकाले आउँदा दिनमा ‘फूलबारी’ले राम्रो व्यापारलाई निरन्तरता दिने लक्षण देखाएको छ । मंगलबार परेको ग्याप्लो ल्होसारले चलचित्रको व्यापारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

चलचित्रमा विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कन्सेप्टमा निर्मित चलचित्रमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटारअनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।