दोहोरी गीत प्रतिष्ठानको नयाँ अध्यक्षमा को आउँला ? कोहि खोल्दैछन् नयाँ संस्था

...

फागुन, काठमाडौँ । लोक तथा दोहोरी गीतको क्षेत्रका कलाकारहरुको ठुलो संस्था हो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान । देशैभरी झण्डै ४० हजार बढी सदस्य रहेका प्रतिष्ठानको आठौं केन्द्रिय महाधिवेशन हुँदै छ । यहि फागुनको १२, १३ र १४ गते धादिङमा हुने महाधिवेशनपछि नयाँ नेतृत्व आउनेछ । अब राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा को बन्ला अध्यक्ष ? यो कुरा अहिले लोकदोहोरी क्षेत्रमा निकै चर्चाको बिषय हो । 

लोकदोहोरी क्षेत्रका कलाकारहरु बिच पनि बिभिन्न मनमुटाव भइरहन्छ । प्रतिष्ठानको अध्यक्ष को बन्ला भन्ने चर्चा चलिरहँदा अध्यक्षको उम्मेदवारको रुपमा चर्चामा आएका लोक गायक बिष्णु खत्रीले नयाँ संस्था खोल्ने खबर बाहिरिएको छ । वरिष्ठ लोकगायक बमबहादुर कार्की र विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत क्षेत्रको नयाँ संस्था स्थापनाको तयारी गरेका हुन् ।  गायक बिष्णु खत्रीले आफूहरु नयाँ संस्थाको विधान लेखनको अन्तिम चरणमा रहेको र आगामी महिना बृहत संस्था गठनको औपचारिक घोषणा गर्ने बताएका छन् । उनी प्रतिष्ठानको अध्यक्षमा उम्मेदवार बन्छन् भन्ने चर्चाका बिच नयाँ संस्था खोल्ने तयारीमा जुटेका छन् ।

नाममा छलफल भइरहेको उक्त संस्थाको अध्यक्षमा बम बहादुर कार्की हुनेछन् भने महासचिवमा बिष्णु खत्री हुने निश्चित भएको छ । विज्ञसहितका संगीतकर्मीलाई अन्य पदमा नियुक्त गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन् । खत्री प्रतिष्ठानका पूर्वमहासचिव समेत हुन् । 

यता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आगामी महाधिवेशनबारे जानकारी दिने उद्देश्यले भोली मंगलबार पत्रकार सम्मेलन गर्दैछ । रिपोर्टर क्लबमा आयोजीत पत्रकार सम्मेलनमा महाधिवेशनबारे पुर्ण जानकारी दिइनेछ । यसैबिच आगामी महाधिवेशनमा प्रतिष्ठानकी अहिलेकी बरिष्ठ उपाध्यक्ष रिता थापा मगर अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छिन् ।