‘बहाव’मा आम मानिसले देखेको चरित्रमा कमलमणि

...

चैत, काठमाडौँ । कलाकार कमलमणि नेपाल अभिनित चलचित्र ‘बहाव’ यहि चैत २४ गते अर्थात आगामी शुक्रबारबाट प्रदर्शन हुँदैछ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा कमलमणि र अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका छ ।

कमलमणिले अभिनेत्री सुरक्षा पन्तका पिता केदार रेग्मीको भूमिकामा अभिनय गरेका छन् । कमलमणिका अनुसार उनले चलचित्रमा समाजमा आम मानिसले देखेको चरित्र निर्वाह गरेका छन् । ‘मेरो चरित्र हरेक परिवार र छरछिमेकमा छ । फिल्ममा पुरानो सोचलाई अगाडि बढाउने र आफ्नो विचारबाहेक अरुको विचार सुन्न नचाहने चरित्र निभाएको छु’, उनी भन्छन् ।

उनको बुझाईमा ‘बहाव’ समाजको यथार्थ कथा हो, जहाँ सबैका आ–आफ्ना विचार र आ–आफ्नो स्वतन्त्रा हुन्छ । ‘केही मान्छे आफ्नो विचार र उद्देश्यका लागि स्वतन्त्र हुन खोज्छन् । तर समाजको परम्परागत मूल्य अनुसार चल्न खोज्ने मानिस पनि उत्तिकै छन्’, कमलमणि भन्छन्, ‘बहावले स्वतन्त्र भएर हिँड्न खोज्ने विचार भएका मान्छेलाई कसरी परम्परागत शैलीमा लैजानुपर्छ भन्ने कुरा उठान गरेको छ । फिल्मले परिवार, छरछिमेक र देशमा अन्तरजातीय विवाहलाई मान्छेले हेर्ने दृष्टिकोण के हो भन्ने कुरालाई नयाँ शैलीमा देखाउने कोशिस गरेको छ ।’

कमलमणिका अनुसार फिल्मले विचारको लडाइँ लड्ने र विचारलाई दबाउने गरी दुई पाटोलाई प्रस्तुत गरेको छ । उनले दुई पाटोबीच कसरी अन्तरद्वन्द्व चल्छ भन्ने दर्शकले फिल्ममा देखाइने बताए ।

kamal03.jpg

कमलमणि निर्देशक प्रमोदको कामबाट प्रभावित रहेछन् । ‘उहाँले मेथड एक्टिङको प्रयोग गर्नुभएको छ । मैले नेपाली फिल्म उद्योगमा यतिका वर्ष काम गर्दा पनि मैले उहाँको शैलीमा काम गरेको थिइनँ’ कमलमणि भन्छन्, ‘चितवनमा वर्कसप गर्दा निर्देशकले हामीलाई खुला छोडिदिनुभएको यिथो । स्क्रिप्टमा जे छ त्यो हुनुपर्छ भन्ने थिएन । आफैंले विश्लेषण गरेर थिम बनाउन सकिन्छ भन्ने निर्देशकको बुझाई थियो ।’

कमलमणिका अनुसार वर्कसपमा उठान भएका राम्रा कुरालाई कलाकारको टिमले सूचीकृत गरेका थिए । उनीहरुले वर्कसपमा जुन दृश्यको तयारी गरेका थिए, सुटिङमा त्यही दृश्यलाई त्यसरी नै प्रस्तुत गरे । ‘हामीले दृश्यमा इम्प्रोभाइज गरेनौं । निर्देशकले जे चाहेको हो, त्यो लिनुहुन्थ्यो । दृश्य लिने मामलामा उहाँ अलिक कडा हुनुहुन्थ्यो’, कमलमणि सम्झन्छन् ।

कमलमणिका लागि ‘बहाव’मा काम गर्दाका दुई दृश्य जिन्दगीभरका लागि स्मरणीय बनेको रहेछ । ‘फिल्ममा सुरक्षा र उसको भाईको एउटा दृश्य छ । भाईलाई सुरक्षाले आफ्ना कुरा सुनाएपछि भाईले आएर मलाई त्यो कुरा भन्छ । त्यो अवस्थामा म आक्रोशित हुनुपर्छ’, कमलमणि भन्छन्, ‘तर त्यो आक्रोश ममाथि अनायासै आउँछ । किनकी मैले जे कुरा गर्न चाहेको हुन्छु, त्यो भन्दा म फरक रुपमा प्रस्तुत हुन्छु । त्यो कसरी ममा आयो भन्ने कुरा आफैं छक्क परें ।’

‘जिज्ञासा, विचार र यथार्थ’ विषयवस्तु बोकेको फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार चलचित्रको व्यानरमा निर्माण भएको हो । चलचित्रका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । चलचित्रमा सुरक्षा र कमलमणिसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।