प्रमोशनका लागी ‘हल्का रमाइलो’मा पुग्यो ‘वेलकम टु हेम्जाकोट’ टिम

...

जेठ, काठमाडौँ । चलचित्र ‘वेलकम टु हेम्जाकोट’ का केहि कलाकार लोकप्रिय हास्य टेलिसिरियल ‘हल्का रमाईलो’ मा पुगेका छन् । आगामी जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको टिम प्रमोशनका लागी उक्त सिरियलमा पुगेको हो । 

राजु पौडेल, मरिचमान श्रेष्ठको लेखन तथा निर्देशन रहँदै आएको यो टेलिसिरियलमा अघिल्लो श्रृंखलाभन्दा अलिकति फरक बनाउन निर्देशकद्धय पौडेल, श्रेष्ठले नियमित कलाकार सारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्जवल खड्का, सविना आचार्य, सविना गिरी लगायतसँग हेम्जाकोटका अभिनेता विनोद न्यौपाने, दिनेश खड्का, प्रेविल कंडेल, विशाल पहारी, रवि गिरीलाई पनि एकसाथ छायांकन गराएका छन् ।

टेलिसिरियलका निर्देशक मरिचमान श्रेष्ठले अतिथी कलाकारहरुसँगको यसपटकको स्क्रिप्ट अलिकति फरक हुने बताए । उनले भने, –‘यो टेलिसिरियलका हाम्रा नियमित दर्शकका लागि अतिथी कलाकारहरुको नयाँ प्रस्तुती देखाउन खोजेका छौं । आशा छ दर्शकले थप रमाइलो मान्नुहुनेछ ।’

हेम्जाकोटका अभिनेता विनोद न्यौपानेले नियमित चलचित्रमा काम गरिरहेको सन्दर्भमा टेलिसिरियलमा काम गर्दा भिन्न अनुभुती भएको प्रतिक्रिया दिए । उनले टेलिसिरियलका दर्शकका लागि यसपटकको प्रस्तुती केहि भिन्न हुने बताए । त्यस्तै, अग्रज कलाकार विशाल पहारीले चलचित्रको प्रमोशनका लागि एक्ले अर्काको सम्मानार्थ अतिथी कलाकार बनाउने संस्कारको विकाश भएकोमा खुसी व्यक्त गरे । त्यस्तै, उनले सिरियलको रमाइलो कन्टेन्टमा आवद्ध हुँदा छुट्टै किसिमको रमाइलो र अनुभव लिएको बताए । अभिनेता प्रेविल कंडेलले टेलिसिरियलको काम गर्ने शैली देखेर अचम्मित भएको बताए । उनले भने, – ‘टेलिसिरियलका दर्शक छोटो मिठो कमेडी शैलीमा कन्टेन्ट हेर्न खोज्नुहुन्छ ।

हामी चलचित्रमा धेरै महिना काम गरेर निर्माण गर्छौ । तर, टेलिसिरियलमा एकदमै छिटो कसरी राम्रो कन्टेन्ट बनाउने भन्ने रणनीतिमा काम हुँदोरहेछ । यो मेरो लागि भिन्न अनुभव हो ।’ यस्तै अभिनेता दिनेश खड्काले एउटा कलाकार व्यवसायिक बन्नका लागि साना तिना काम भन्न नहुने बताए । उनले भने, – मैले यसअघि धेरै प्रोजेक्टमा काम गरेँ । सुरुमा नाटक पनि गरेँ । फिल्म पनि गरेँ । अहिले फेरी सिरियल खेल्न यहाँ आएको छु । मलाई त कुनै किसिमको घमण्ड छैन ।’

सरोज पौडेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र वेलकम टु हेम्जाकोट का निर्माता तेज प्रसाद दाहाल हुन्, त्यस्तै जितेन्द्र गिरी र बाबुराम कार्की सहायक निर्माता हुन् ।  पोखरा क्षेत्रमा खिचिएको यो चलचित्र पुर्ण कमेडी शैलीमा निर्माण भएको बुझिएको छ ।