काठमाडौँ । नेपाली टेलिभिजनको लोकप्रिय हास्य सिरियल ‘सक्किगोनि’ फेरि दर्शकमाझ आउने भएको छ। तीन सिजनसम्म दर्शकको राम्रो साथ पाएको यो सिरियल अब चौथो सिजनसहित फर्किने भएको हो।
‘सक्किगोनि’ तीन सिजनसम्म प्रसारण हुँदा यसका अधिकांश पात्र दर्शकमाझ निकै लोकप्रिय बनेका थिए। तर, तेस्रो सिजनपछि सिरियल रोकिएसँगै अब यो फेरि नआउने हो कि भन्ने धेरै दर्शकमा चासो थियो। यद्यपि, निर्माण टिमले भने सिरियललाई सधैँका लागि बन्द गर्ने घोषणा गरेको थिएन।
सिरियलका लेखक तथा निर्देशकद्वय कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) पछिल्लो समय चलचित्र निर्माण तथा निर्देशनमा व्यस्त थिए। दुवैले छुट्टाछुट्टै चलचित्र निर्देशन गरे पनि अपेक्षाअनुसार सफलता हासिल गर्न सकेनन्। अब भने उनीहरू पुनः टेलिभिजन सिरियल निर्माणमै फर्किने भएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत दुवैले ‘सक्किगोनि’को चौथो सिजन लिएर छिट्टै आउने जानकारी दिएका छन्। निर्माण टिमले चौथो सिजनको आधिकारिक घोषणा गरे पनि यसको प्रसारण कहिलेदेखि सुरु हुने र कुन टेलिभिजन च्यानलबाट प्रसारण हुने भन्नेबारे खुलाएको छैन।
लोकप्रिय पात्र र हास्य प्रस्तुतिका कारण दर्शकमाझ छुट्टै पहिचान बनाएको ‘सक्किगोनि’को चौथो सिजनलाई दर्शकले कस्तो प्रतिक्रिया दिने हुन्, त्यो भने प्रतीक्षाको विषय बनेको छ।




५ मंसिर २०८३, शुक्रबार १३:२६ 








