‘परस्त्री’को हिन्दी डबको म्युजिक राइट्स विक्री

...

जेठ, काठमाडौं । चलचित्र ‘परस्त्री’को हिन्दी डबको म्युजिक राइट्स विक्री गरिएको छ । आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई भारतका हलमा प्रदर्शन गर्ने उद्देश्यसहित हिन्दी भाषामा समेत डब गरिएको हो ।

सुरज पाण्डेको डेव्यु निर्देशन रहेको ‘परस्त्री’को गीतको ‘बीफोरयू’ नामक भारतीय कम्पनीले युट्युब राइट्स खरिद गरेको हो । शुक्रबार निर्मात्री शर्मिला पाण्डे र ‘बीफोरयू’ कम्पनीबीच कागजी सम्झौता भएको छ ।

निर्मात्री पाण्डेका अनुसार, चलचित्रको युट्युब प्रदर्शन अधिकार भने विक्री भएको छैन । त्यसका लागि विभिन्न युट्युब कम्पनीहरुसँग कुराकानी भैरहेको उनले बताइन् । अहिले मुम्बईको एक स्टुडियोमा चलचित्रको हिन्दी डबको पोस्ट प्रोडक्सनको काम भैरहेको छ । भारतका प्रख्यात गायक तथा गायिकाहरुले चलचित्रको हिन्दी गीत गाएका छन् ।

नेपालकै मितिमा भारतका हलमा पनि प्रदर्शनमा आउने चलचित्रको पहिलो हिन्दी डब गीत केही दिनमा रिलिज हुँदैछ । पोस्टर रिलिजसँगै चर्चामा आएको चलचित्रले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तु उठाएको छ । चलचित्रको निरज कँडेल छायांकन गरेका हुन् ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा शिल्पा मास्के, गौरव बिष्ट, कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् ।