रकगायक तथा अभिनेता रविन तामाङको निधन

...

असार, काठमाडौँ । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको गएराती निधन भएको छ ।  मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको दिदी भगवती तामाङले पुष्टि गरिन् ।
अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार बुढानीलकण्ठ ५ चिसेनीस्थित उनको घरमा पुगेको बताएका छन् ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए । उनको पछिल्लो चलचित्र ‘छड्के २’ थियो ।  लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।