सामाजिक सन्जालमा छरिदै छ नाङ्गो गाउँ’को ‘सुन सुन सुन्दरी’ गीत

...

भदौ, काठमाडौँ । नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ को चर्चा बढिरहेको छ । यहि भदौको २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि चलचित्रको कथालाई लिएर चर्चा अझ बढ्दैछ ।  

यसैबिच, चलचित्रमा समावेश ‘सुन सुन सुन्दरी’ बोलको गीत सामाजिक संजाल टिकटकमा भाइरल बनेको छ । जसलेगर्दा, युट्युबमा पनि गीतको भ्यूज बढिरहेको छ । अन्जु पन्त र एसडी योगीको स्वरमा समावेश यो गीतको ‘भए शिरफूल नभए लाउलाउ लाछा डोरी उनैको, सबको माया बैगुनी छ तिम्रो माया गुनैको’ अंश टिकटकमा भाइरल बनेको छ ।

टिकटकमा यो गीत चलेपछि गीतले युट्युबमा ५ दिनमा साढे ६ लाख भ्यूज पाइसकेको छ । गीत सामाजिक संजालमा हिट भएपछि यसको प्रभाव चलचित्रको बक्स अफिसमा पनि पर्ने देखिन्छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हिमाल शर्माको प्रस्तुति छ । चलचित्रको यो गीतमा नायक दयाहाङ राई र नायिका मिरुना मगरलाई फिचरिङ गरिएको छ ।

सुष्मा सिग्देलले लेखेको गीतमा सुशान्त गौतमको संगीत छ । जय श्रेष्ठको लगानीमा बनेको चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । चलचित्रले राजनीतिक कथावस्तुलाई प्रस्तुत गरेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई आलोक शुक्लाले खिचेका हुन् ।

यसैबिच, चलचित्रको प्रदर्शनको दिन नजिकिदै जादा यसको निर्माणपक्षले देशभर प्रचारलाई पनि तिव्रता दिइरहेको छ । पश्चिमको नेपालगञ्जदेखि पूर्वको झापामा फिल्मको पोष्टर अटोमा टाँसेर प्रचार गर्ने कामलाई यसको निर्माणपक्षले तिव्रता दिएको छ । प्रस्तुतकर्ता शर्माले ग्राउन्ड जिरो प्रचार अन्तरगत अटोमा पोष्टर टाँसेर प्रचारको कामलाई तिव्रता दिएको बताए ।