‘नाङ्गो गाउँ’को बम्पर व्यापार, दया भन्छन्–‘रेकर्डको दबाब लिनु हुँदैन’

...

भदौ, काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘नाङ्गो गाउँ’ले दर्शकको साथ पाइरहेको छ । प्रदर्शनको पछिल्लो दुईदिनमा राम्रो ओपनिङ गरेको निर्माताको भनाई छ । ‘जवान र एक भागवत् र एक गीता’सँग स्क्रिन शेयर गर्नु परेपनि दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले देशैभरी दर्शकलाई हलसम्म तान्न सफल भएको छ । 

चलचित्रले दर्शकको ठूलो संख्यालाई हलसम्म आकर्षित गरेपछि कलाकार दयाहाङ राई खुशी सुनिए । तर, उनले आफूलाई कहिले पनि बक्स अफिसको दबाब नरहने पनि बताए । उनले भने–‘यो फिल्मको कथाले मलाई छोएको थियो । निर्देशक लामाले पनि फिल्मलाई राम्रो तरिकाले तयार पारेका छन् । यसैले, दर्शकलाई मन पर्यो होला जस्तो लाग्छ । निर्माता सुरक्षित भएको सुन्दा खुशी लाग्छ ।’

दयाले आफूलाई आफ्नै अघिल्ला फिल्मको रेकर्ड ब्रेक गर्ने लोभ भने नभएको बताए । उनले भने–‘एउटा कलाकारलाई दर्शकले दिने माया र साथ नै ठूलो कुरा हो । यो फिल्मले अरु फिल्मसँग स्क्रिन शेयर गर्नुपरेकाले पनि सुरुवाती दिनमै रेकर्ड ब्रेक गर्न सक्दैन होला । तर, बुकिङ रातो देख्दा खुशी लागेको छ ।’

निर्माता हिमाल कडरियाले फिल्मबाट पाएको प्रतिक्रिया र दर्शकको साथले उत्साहित बनाएको बताए । उनले कलेक्शन अहिले नै भन्न नसकिने भन्दै आफू नेपाल र ओभरसिजबाट सुरक्षित भैसकेको सुनाए । निर्देशक दीपेन्द्र लामाले फिल्मको कथा लेख्दा नै आफूलाई दर्शकले मन पराउनुहुन्छ भन्ने लागेको बताए । उनले भने–‘मलाई यो फिल्म चल्दैन भन्ने त कतै पनि लागेको थिएन । दर्शकले प्रतिक्रिया पनि उत्कृष्ट दिनु भएको छ ।’

तीज र संविधान दिवसको बिदामा चलचित्रमको व्यापार अझै बढ्ने आशा निर्माताको छ । प्रस्तुतकर्ता हिमाल शर्माले चाडै नै नयाँ फिल्मको घोषणा गर्ने समेत सुनाए । दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रमा आलोक शुक्लाको छायांकन छ ।