‘नाङ्गो गाउँ’को उत्साहजनक व्यापार, ६ दिनको कमाई ३ करोड ३५ लाख

...

असोज, काठमाडौं । भदौको २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘नाङ्गो गाउँ’ले उत्साहजनक व्यापार गरेको छ । चलचित्रले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्शन गरेको निर्माणपक्षले जानकारी दिएको छ । निर्माणपक्षले बिहीवार चलचित्रको बुधबारसम्मको व्यापारिक आँकडा सार्वजनिक गर्दै ६ दिनमा ३ करोड ३५ लाख ग्रस कलेक्शन गरेको उल्लेख जानकारी दिएको हो । 

चलचित्रले शुक्रबार ७० लाख, शनिबार ९० लाख, आइतबार र सोमबार ९० लाख, मंगलबार र बुधबार ८५ लाखको ग्रस कलेक्शन गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् ।

नेपाली चलचित्रले हलमा दर्शक तान्न नसकिरहेको समयमा ‘नाङ्गो गाउँ’ले भने हलमा दर्शकलाई आकर्षित गरिरहेको छ । चलचित्रको यो व्यापारले अब निर्माता मुनाफाको बाटोमा लागेको देखिन्छ । हलमा बलिउड फिल्म ‘जवान’को दबदबा कायम रहनु, अर्को नेपाली चलचित्र ‘एक भागवत एक गीता’सँग स्क्रिन शेयर गर्नु लगायतका वाध्यताका बिच पनि दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले सुखद कमाई गरेको हो । 

चलचित्र विकास बोर्डको सर्भरमा प्राप्त भएको रेकर्ड अनुसार यो चलचित्रको ६ दिनको व्यापार २ करोड ५४ लाख भएको देखिन्छ । तर, वितरक रोहितले विकास बोर्डको सर्भरमा सबै हलको बक्स अफिस नजोडिएकाले व्यापारमा फरक देखिएको हो ।

यो चलचित्रको व्यापार विशेषगरि, काठमाडौ, पोखरा, झापा, चितवन, बुटवल र इटहरीमा बलियो छ । यसअघि, खासै दर्शक तान्न नसकेका हलमा समेत यसपटक यो चलचित्रले दर्शक तानेको निर्माणपक्षले दाबी गरेको छ । चलचत्रिमा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय छ । 

हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ चलचत्रिका कार्यकारी निर्माता हुन् ।