अनमोललाई सोमबार फेरि अदालतमा उपस्थित गराइने

...

असोज, काठमाडौँ । अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार (असोज १२) मा पक्राउ गरेको थियो ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यद्यपि अवधि अनमोल पक्राउ परेको दिन (शुक्रबार)देखि गणना हुनेछ। उनलाई सोमबार फेरि अदालतमा उपस्थित गराइने भएको छ। 

रावायण चलचित्र खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

प्रहरीसँगको सोधपुछका क्रममा आफूले लिएको पैसा फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले पैसा फिर्ता लिन नमानेको अनमोलले बयान दिएका थिए । 

अनमोलले ‘आपराधिक विश्वासघात’ गरेका कारण आफूहरुको करिब डेढ करोड लगानी डुबेको निर्माण पक्षको दाबी छ ।