सन्तोष सेनको ‘बलिदान’को थिम लुक सार्वजनिक, अर्को दशैंमा रिलिज गरिने

...

असोज, काठमाडौँ । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट ‘बलिदान’को शीर्षक सहितको ‘थिम लुक’ सार्वजनिक गरिएको छ । नेपाली चलचित्रको श्रेष्ठ सिरिज ‘प्रेम गीत’ सिरिजका प्रणेता तथा पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक प्रदर्शनको ऐतिहासिक सुरुवात गरेका सन्तोष सेनले यो चलचित्र बनाउन लागेका हुन् । शनिवार बडा दसैँको फूलपातीको अवसर पारी घोषणा गरिएको ‘बलिदान’को रिलिज मिति वि.सं. २०८१ सालको फूलपातीको दिन तय गरिएको छ ।

‘बलिदान’को निर्देशन सन्तोष आफैले गर्दैछन् । आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम्  साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् । ‘थिम लुक’मा सार्वजनिक सामग्रीअनुसार ‘बलिदान’को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गका बिच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूका उत्पत्ति, कारण र परिणामलाई चित्रण हुनेछ ।

चलचित्रका निर्माता तथा निर्देशक सेनले यो चलचित्रलाई एक सार्वभौम महाकथा भनेका छन् । ‘नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा शान्तिपूर्ण आन्दोलन गर्दा आफ्नो स्वार्थको दाल दल्ने देशी विदेशी कुटिलहरू प्रवेश  गरी उत्पन्न हुने बीभत्स परिवेशलाई चित्रण गर्ने हुनाले यसको कथा नेपालको मधेसको त हो नै, साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो’ सेनले बताए ।

यो चलचित्रमा विषयवस्तु यथार्थ रहेको तर स्थान तथा पात्र काल्पनिक रहेको सेनले बताए । ‘यस चलचित्रमा काल्पनिक रङ दिएर नेपाली समाजमा भए गरेका मधेस मुद्दालगायत सबैतिर देखिने राज्यपीडितका मुद्दालाई सशक्त रूपमा उठाउने र नेपाली राजनीतिको सूक्ष्म अवलोकन गरी नेपालमा सधैँ अस्थिरता फैलाइरहने कुटिल तत्त्वको पहिचान गरी त्यस्ता तत्त्व देखी सचेत भएर जुनसुकै तरिकाले बली चढाउनुपर्ने सन्देश हामीले यस चलचित्रमा दिनेछौँ’, उनले बताए ।

सेनका अनुसार यस चलचित्रमा सहज आन्दोलन या अधिकारको लडाइँ हुँदा देशी विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पारिन्छ भन्ने कुरालाई चित्रण गरिनेछ । अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली  युग पुरुष जन्माउँछ भन्ने सत्यलाई पनि चलचित्रको कथामा आत्मसात् गरिने उनले बताए ।

‘त्यस पुरुषले नै तानासाही कुटिलहरूको बलि दिएर समाज तथा भूगोल टुक्रिनबाट कसरी योगदान दिइरहेको हुन्छ र युगमा परिवर्तन आउँछ भन्ने सार्वभौमिक सत्यको प्रतिपादन गरिने चलचित्र बलिदान हो’, सेनले थपे । तिहार लगत्तै यो चलचित्रको छायाङ्कनमा जाने तयारी गरिएको छ ।