पुस, काठमाडौँ । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस हिजोदेखि १६औँ वर्षमा प्रवेश गरेको छ ।
फेसियल हाउसले काठमाडौंमा हिजो विशेष समारोह आयोजना गरी १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरी स्थित सिटी सेन्टरमा आयोजित भव्य समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति रहेको थियो।

समारोहमा फेसियल हाउसका संरक्षक उज्ज्वल जंग शाहले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली र अन्य अतिथिहरूका साथमा प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । वार्षिकोत्सव समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो ।

डकुमेन्ट्री मार्फत सौन्दर्य क्षेत्रमा प्रवेश गर्न चाहाने नयाँ व्यक्तिहरूलाई केही नयाँ टिप्स र सकारात्मक सन्देश दिने प्रयास गरिएको प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् । समारोहमा प्रमुख अतिथि पर्यटनमन्त्री सुशीला सिर्पाली तथा अतिथिद्वय सांसद ज्ञानेन्द्र शाही र पूर्वसांसद नवीना लामाले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । बाँकी समय विभिन्न किसिमका नृत्य र गायनहरूको प्रस्तुति रहेको थियो । मनोरञ्जन प्रदान गर्न गायनतर्फ लोकगायक बद्री पङ्गेनी, खुमन अधिकारी र सृजना कुँवर तथा नृत्यतर्फ टीम इन्टरटेन्टमेन्ट समूहको उपस्थिति थियो । उनीहरूले विभिन्न गीतसङ्गीत र नृत्यमार्फत साँझको माहोललाई तताएका थिए । कार्यक्रममा क्रेजी नोट्स व्याण्डका गीतहरू प्रस्तुत गरिएको थियो ।
यस्तै, कार्यक्रम सञ्चालकको भूमिकामा रहेका हास्य कलाकारनद्वय राजा राजेन्द्र पोखरेल र राधिका कँडेलले पनि कार्यक्रम सञ्चालनका साथै समारोहलाई हाँसोमय बनाउँदै अघि बढाएका थिए ।







१० पुष २०८०, मंगलवार १४:४२ 








