दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल

...

पुस, काठमाडौँ । यस बर्षको सुपरहिट चलचित्र ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । हिमालले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने पक्का भएको छ । चलचित्रमा विकास सुवेदीको लेखन रहनेछ । दिनेशले चलचित्र  ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् ।

यसैबिच, यो चलचित्रमा नेपाली फिल्म क्षेत्रका दुई सुपरस्टार नायकहरुको टिमअप पक्का भएको छ । चलचित्रमा नायकद्धय दयाहाङ राई र आर्यन सिग्देलले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी दिएका छन् । दया र आर्यनले यसअघि चलचित्र ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए । यी दुई नायकको टिमअपले फेरि दर्शकमाझ नयाँ उत्साह थपिने पक्का छ ।

यो चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो चलचित्रले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने वुझिएको छ ।

gau nai ramailo movie.jpg

चलचित्रका अन्य कलाकारहरुको घोषणा विस्तारै गरिने निर्माणपक्षले बताएको छ । यो चलचित्रको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो फिल्म वितरणको जिम्मा लिएको छ । चलचित्रको छायांकन आउँदो बर्षको जेठबाट सुरु हुने निर्माणपक्षले उल्लेख गरेको छ ।

निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने यो चलचित्रमा दयाहाङ राई फाइनल भइसकेका छन् ।