डीपी खनाललाई सहयोग गर्न गीतकार संघको आग्रह

...

पुस, काठमाडौं । गीतकार डिपी खनालको जीवनरक्षाको लागि सहयोग गर्न गीतकार संघ नेपालले आग्रह गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै संस्थाले स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक र संगीतप्रेमीलाई आर्थिक सहयोगका लागि अपील गरेको हो ।

खनाल डेढ महिनादेखि पाटन अस्पतालमा उपचाररत छन् । कात्तिक ३० मा स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका हुन् । उपचारका क्रममा उनको फोक्सो तथा ढाडमा रगतका साथै पिप जमेको पाइएको थियो । त्यस्तो हुनुको कारण यकिन नभएको र कति समयसम्म उपचार गर्नुपर्ने टुंगो पनि नभएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । उपचारमा ठूलो धनराशि खर्च भइसकेको र खर्चको अभाव हुँदै गएको जानकारी प्राप्त भएको संघले जनाएको छ ।

अध्यक्ष बसन्त वित्यासी थापा, सल्लाहकार राजेन्द्र थापा, उपाध्यक्ष रमेश कोइराला, महासचिव टीका राई ‘शिव’, कोषाध्यक्ष चेतन खतिवडासहितको समूहले अस्पतालमा पुगेर खनाललाई भेटेको थियो । साथै, नगद २५ हजार रुपैयाँ समेत सहयोग गरेको छ । इच्छुकले गीतकार संघ नेपालको नाममा एभरेस्ट बैंकमा रहेको खाता नम्बर ००१००१०५२००८४७ मा रकम जम्मा गर्न आग्रह गरिएको छ ।

Geetkar-Sangh.jpg