‘हात्तीछाप’लाई लिएर उत्साहित छन् सौगात र उपासना

...

माघ, काठमाडौँ । यहि माघको २६ गतेबाट नयाँ नेपाली चलचित्र ‘हात्तीछाप’ प्रदर्शन हुने तयारीमा छन् । यसै चलचित्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरीको पनि मुख्य भूमिका रहेको छ । अभिनेता मल्लले यो चलचित्रलाई लिएर आफू उत्साहित रहेको बताउँछन् । मिडियासँगको कुराकानीको क्रममा उनले आफूहरुले चलचित्रका लागी निकै मिहिनत गरेको बताएका छन् । 

‘हामीले राम्रो फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिने कोशिश गरेका छौं । यसका लागि फिल्मका सबै टिमको मिहिनेत निकै छ । सौगातले भनेका छन्,  आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ ।’ उनले चलचित्रमा ‘बोत्तल राजा’को भूमिका निभाएका छन् । यो चलचित्रका लागि सौगातले कपाल पनि लामो पालेका थिए । 

फिल्म ‘२ नम्बरी’मा एकसाथ काम गरेपछि नायकद्धय दयाहाङ राई र सौगात मल्लको साथमा नायिका उपासना सिंह ठकुरीले ‘हात्तीछाप’मा काम गरेका हुन् । उपासना पनि चलचित्रलाई लिएर निकै नै खुशी देखिइन् । चलचित्रले सामाजिक कथावस्तुलाई उठाएको उनको भनाई छ । उपासना भन्छिन्–‘म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यसपटक पनि कथा पढ्दा मज्जा लाग्यो । यसमाथि, दया र सौगात दाई भएपछि फिल्ममा यसै रमाइलो भइहाल्छ ।’

फिल्म ‘२ नम्बरी’मा उपासना र सौगातको प्रेम देखाइएको थियो । यसपटक भने, दया र उपासनाको प्रेम देखाइएको छ । यो बिषयमा उपासना भन्छिन्–‘यो फिल्ममा दया दाई र मेरो ल्वाङ गाउँको अर्गानिक प्रेमकथालाई प्रस्तुत गरिएको छ । दर्शकले, दया दाई र मेरो जोडीलाई पनि मन पराउनुहुन्छ भन्ने लागेको छ ।’

चलचित्रका निर्देशक सिमोस सुनुवारसँग काम गर्न निकै सहज भएकाले पनि नयाँ नयाँ कुराहरु फिल्ममा आफैले जोड्न पाएको सौगातले सुनाए । उनले रमाइलो गर्दै भने–‘सिमोसजीसँग काम गर्न त एकदमै सजिलो थियो । उहाँलाई यसो गरौं भन्ने वित्तिकै गर्न पाइने । यसैले, केही संवादहरु मैले आफै थपेको छु । निकै रमाइलोसँग काम गर्यौं ।’

चलचित्रमा भुकम्पको कथा पनि उठाइएको उपासनाले खुलासा गरेकी छिन् । उनले भनिन्–‘हाम्रो फिल्मले समाजमा भइरहेको घटनालाई नै प्रस्तुत गरेको छ । कतिपय कुराहरु हामीले देखेर पनि वेवास्ता गरिरहेका हुन्छौं, ती बिषय फिल्ममा छन् । यस्तै, फिल्मले भुकम्पको कथालाई पनि उठान गरेको छ । समसामयिक बिषयलाई रोचक तरिकाले उठान गरिएकाले हात्तीछाप विशेष छ ।’

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा कलाकारहरुको लाइनअप पनि लामो छ । अर्कोतिर, यो फिल्मको टिजरले दर्शकको माया पाइसकेको छ । निर्माणपक्षले ट्रेलर पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।