‘चोली फेर्ने माया’ सार्वजनिक गर्दै बद्री पंगेनी भन्छन्ः यो मेरो निरन्तरता मात्र हो

...

माघ, काठमाडौँ । लोकगायक बद्री पंगेनीले आफूले निरन्तरताका लागी मात्रै नयाँ गीत ल्याएको बताएका छन् । पछिल्लो समय गीत सार्वजनिक भइरहँदा पनि तपाई कता हराउनु भो भन्ने प्रश्न आइरहने हुँदा संगीतमा निरन्तरता दिएको छु भन्नका लागी नयाँ गीत सार्वजनिक गरेको बताएका छन् । 

शुक्रबार काठमाडौंको सिलौटो कटेजमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्धारा आयोजीत गीत विमोचन कार्यक्रममा बोल्दै गायक पंगेनीले ‘कता हराउनु भो’ भन्ने प्रश्नको समाधानका लागी सञ्चारकर्मीहरुको सहयोग मागेको बताए । उनी भन्छन्, ‘गीत आइरहेको हुन्छ तैपनि शुभचिन्तकहरु जसले पनि कता हराउनु भो, गीत गाउन छाड्नु भयो कि भन्ने प्रश्न गरिहाल्नुहुन्छ । त्यसैले पनि त्यस्ता प्रश्नको समाधान होस् भनेर सन्चारकर्मीको सहयोग मागेको हुँ । जसले गर्दा गीत दर्शक, स्रोतामाझ पुगोस् ।’

badri pangeni new song.jpg

गायक बद्री पंगेनीले नयाँ गीत ‘चोली फेर्ने माया’ सार्वजनिक गरेका छन् । गीतमा पंगेनीसँगै शान्ति भण्डारीको स्वर छ । गीतमा शब्द र संगीत शिब हमालको रहेको छ भने भिडियोमा नायक पुष्प खड्कासँग गायक पंगेनी र गायिका भण्डारीले अभिनय गरेका छन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि सडक साधकको रुपमा परिचित प्रज्वल कुमालले बद्री पंगेनीका हरेक गीत समाजसँग जोडिएका हुने र अहिलेको गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास राखे । कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले नेपाली लोकगीतको क्षेत्रमा गायक बद्री पंगेनीको योगदान अतुलनिय रहेको र अझै पनि यसरी निरन्तरता दिनु नै ठुलो कुरा भएको भन्दै नयाँ सिर्जनालाई माया गरिदिन अनुरोध गरे । कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका निवर्तमान अध्यक्ष हरिवल्लव नेपाल, गीतकार एकनारायण भण्डारी, भिडियो समिक्षक बाबुराजा केसी, सुवास रेग्मी लगायतका अतिथिले शुभकामना दिएका थिए ।