माघ २१ का दिनभरका मनोरञ्जन अपडेट (भिडिओ रिपोर्ट)

...

माघ, काठमाडौं । 

हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बे अस्ट्रेलिया उडेका छन् । हाँस्य टेलिश्रृंखला हल्का रमाइलोका चर्चित कलाकार बल्छि धुर्बे एक महिनाका लागी आइतबार अर्की कलाकार पुजन घिमिरे ‘पुकु’सँग अस्ट्रेलिया उडेका हुन् । अष्ट्रेलिया बसाइमा उनले ‘हल्का रमाइलो’को केही एपिसोड र एक नयाँ सिरिज सुटिङ गर्ने, आफैंले गाएको एक म्युजिक भिडियो पनि खिच्ने र कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताएका छन् । आइतबार बिहान १० बजे एअरपोर्टमा आर्टिष्ट खबरसँग कुरागर्दै बल्छि धुर्बेले आफ्नो यो अस्ट्रेलियाको दोस्रो पटकको यात्रा भएको बताए । केही साताअघि उनीहरु कतारमा कार्यक्रम गरेर फर्किएका थिए ।

०००

अभिनेता तथा गायक कोसिस क्षेत्रीले प्रेमिका सन्ध्या ढुंगानासँग विवाह गरेका छन् । उनीहरुले यहि माघ १७ गतेबाट हेटौंडाको घरबाट बिवाह गरेका हुन् । एक वर्ष पहिले यो जोडीले इन्गेजमेन्ट गरेको थियो । परिवार र आफन्तको उपस्थितिमा यी दुईले विवाह गरेका हुन् । उनीहरु आठ वर्षदेखि प्रेम सम्बन्धमा थिए । सन्ध्याले मनोविज्ञान विषयमा स्नातकोत्तर गरेकी छन् । गायन हुँदै अभिनयमा प्रवेश गरेका कोसिसले ‘मोक्ष’ फिल्मबाट अभिनयमा डेब्यु गरेका थिए ।

०००

फिल्म ‘काँडेतार’ले शहीद गोविन्द गौतमको घर कञ्चनपुरको पुनर्वास पुगेर उनको परिवारलाई आर्थिक सहयोग गरेको छ । फिल्मको च्यारिटी प्रदर्शनबाट संकलित रकमबाट ५० हजार रुपैयाँ शहीद गौतमको परिवारलाई प्रदान गरिएको निर्माता तथा निर्देशक नवल खड्काले जानकारी दिएका छन् । केही दिनअघि गौतमको पुनर्वासस्थित घरमा पुगेको फिल्मको युनिटले उनका बाबुआमालाई भेटेर सहयोगी हात बढाएको हो । भारतीय सीमा सुरक्षा बलको गोली लागेर २०७३ फागुन २६ गते सीमा विवादमा भएको झडपमा उनको मृत्यु भएको थियो । यसअघि पनि गौतमको परिवारलाई फिल्म युनिटले २६ हजार रुपैयाँ सहयोग गरेको थियो ।

०००

नायक गौरव पहारीले बिवाह गरेका छन् । गएको असोजको ३ गते  प्रेमीका श्रेयानी खतिवडासँग इन्गेज्मेन्ट गरेका गौरबले आइतबार जोरपाटीस्थित नर्लिङ रिसोर्टमा परिवार, आफन्त र केही फिल्मीकर्मीको उपस्थितिमा बिहे गरेका हुन् । बिहे समारोहमा हाँस्य कलाकार विल्सन विक्रम  राई, कलाकार सुनील थापा र पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा उपस्थित छन् । चर्चित कलाकार टीका पहारीका छोरा गौरव पहारी र श्रेयानीको प्रेम ३ बर्षदेखि चलिरहेको थियो ।

०००

ऋषिराज आचार्यको निर्देशनमा बन्न लागेकोचलचित्र  ‘द्रौपदी’को कलाकार छनौटका लागी शनिबार र आइतबार अडिसन सम्पन्न भएको छ । जसमा ४ सय १६ जनाले अडिसन दिएका छन् । निर्देशक ऋषीराज आचार्यका अनुसार निर्माण टिमसँगको सल्लाह अनुसार अडिसनमा सहभागी भएका मध्यबाट चलचित्रका लागि कलाकार छनौट गरिनेछ ।  चलचित्रको शीर्षक ‘द्रौपदी’ भएपनि फिल्म देशको यथार्थपरक कथामा बन्न लागेको हो । कर्णाली प्रदेशको विभिन्न दुर्गम हिमाली क्षेत्रमा छायाङ्कन गर्न लागिएको फिल्म महिला प्रधान हुनेछ ।

०००

सोमबार देशभरका चलचित्र हल बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर देशभरका हल बन्द गर्न लागिएको हो । मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्ने नेपाल चलचित्र संघले केही दिन अगाडि निर्णय गरेको थियो । सोही निर्णयको समर्थन गर्दै क्युएफएक्सले पनि हल बन्द रहने जानकारी दिएको हो ।

०००

मिस नेपाल नर्थ अमेरिकाको छैटौं संस्करणको आवेदन गएको शनिबारदेखी खुला गरिएको छ । प्रतियोगिताको फिनाले आगामी साउन १९ गते अगस्ट ३० हुने जनाएको हो । अमेरिकाको आर्थिक सहर न्यूयोर्कमा हुने यो ब्युटी पेजेन्टको आयोजक ड्रीम्स युनिभर्सल एलएलसीका प्रमुख शैलेन्द्र श्रेष्ठले अमेरिका र क्यानडामा बसोबास गर्दै आएका १८ देखि २९ वर्षसम्मका नेपाली अविवाहित युवतीले प्रतियोगितामा भाग लिन सक्ने बताएका छन् । यसवर्षको संस्करणमा कोरियोग्राफरको रुपमा पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ रहने भएकी छन् । यसअघि अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का, पूर्वमिस नेपाल श्रृंखला खतिवडा, मिस नेपाल इन्टरनेसनल नीति शाह कोरियोग्राफर भइसकेका छन् ।

०००

मिस नेपाल सृच्छा प्रधानले विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डमा ‘वातावरणमैत्री’ सहरको परियोजना प्रस्तुत गर्ने भएकी छन् । यसका लागि उनले पाटन सहरलाई ‘इको सिटी’को रुपमा विकास गर्ने अवधारणा अघि सारेकी हुन् । विश्व सिमसार दिवसको अवसरमा शनिबार एक समारोह आयोजना गर्दै उनले मिस वर्ल्डको गृहकार्यस्वरुप आफू अहिल्यैदेखि जुटेको बताइन् । उक्त समारोहमा युवा उद्यमीले आफूले उत्पादन गरेका वातावरणमैत्री घरेलु सामाग्रीदेखि पहिरनसम्म प्रदर्शनीमा राखिएको थियो ।

०००

महिला सशक्तीकरणको विषयमा बनेको सांगीतिक फिल्म ‘चल्ने हावा’ सार्वजनिक गरिएको छ । संगीता श्रेष्ठ निर्देशित सांगीतिक चलचित्रलाई काठमाडौंमा आयोजित समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सार्वजनिक गरिन् । गीतमा सरु पराजुलीको स्वर र शिव चम्लागाईंको शब्द तथा संगीत छ । उक्त म्युजिकल फिल्म हेरिसकेपछि उपसभामुख रानाले उद्देश्य बोकेर संघर्ष गरेमा सफलता हात पर्ने भन्दै प्रशंसा गरिन् । गीतको भिडियोमा अभिनेत्री हमालले पाइलट बन्ने सपना पूरा गर्न गरेको संघर्षलाई देखाइएको छ ।