चलचित्र ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक

...

चैत, काठमाडौँ । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । 

झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ। तर दयाले यी अपेक्षालाई उपेक्षा गरेको ट्रेलरमा देखाइएको छ ।

चलचित्रको ट्रेलर क्याम्पसको मान्यता जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैं पिरा स्वाभावमा उभिएका दयाको नोकझोकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरले वर्षको अन्तिममा रिलिज हुन लागेको यो चलचित्रले नेपाली सिनेउद्योगलाई सुखद् समापन दिने संकेत गरेको छ।

दयाहाङको केन्द्रीय भूमिकामा रहेका चलचित्रमा अभिनेत्री आँचल शर्मा उनको प्रेमीका बनेकी छिन् । दयाहाङले निर्देशन गरेको सोही नामको नाटकमा यो सिनेमा आधारित रहेको छ। चलचित्रले वेरोजगारीको कथालाई चलचित्रमा पस्किनेछ ।

चलचित्रलाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो । दयाहाङ र आँचलका अलवा सिनेमामा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । यस्तै अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ।

‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई सिनेमाले आफ्नो ट्यागलाइन बनाएको छ ।  निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको चलचित्रलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् । चलचित्र आगामी चैत ३० गते रिलिज हुनेछ ।