‘दान्भी’को एक्शनले भरिपुर्ण ट्रेलर सार्वजनिक

...

जेठ, काठमाडौँ । नायिका रेखा थापा पहिलोपटक एक्शन अवतारमा उत्रिएको चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी असार ७ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रको ट्रेलरमा एक्शन भरिपुर्ण छ । राजधानीमा बिहीबार एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर २ मिनेट ४० सेकेण्डको छ ।

चलचित्रका नवनायक कुन्साङ बोमजोमसँग पुजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलर हेर्दा कुन्साङको हत्या पछि उनको हत्याको बदला लिन पुजालाई एक्सन रुपमा प्रस्तुत गरिएको बुझ्न सकिन्छ । ट्रेलरमा पुजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ ।

कार्यक्रममा नायिका पुजाले चलचित्रको टिजर र एक्सन सिक्वेन्सको तस्वीर सार्वजनिक भएपछि सञ्चारमाध्यममा आफूलाई ट्रोल बनाइएकोमा गुनासो गरिन् । ‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि आयो । तर मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, उनले भनिन् ।

पुजाले आफूले ट्रेलर हेरिरहँदा ती दृश्य कसरी गरें भन्ने आफूलाई लागेको बताइन् । ‘अब म अरुको आलोचना सुन्नु भन्दा कामले नै जितेर देखाउँछु भन्ने अठोटमा छु । हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको छु’, उनले भनिन् ।

नवनायक कुन्साङले दर्शकले ‘दान्भी’मा नयाँ एक्सन जनरा पाउने बताए । अर्का नायक किरण श्रेष्ठले एक्सन जनरा मनपर्ने दर्शकका लागि ‘दान्भी’ उपर्युक्त फिल्म भएको दाबी गरे ।

चलचित्रका द्वन्द्व निर्देशक श्री श्रेष्ठले पुजाको टाइमिङ र उनको मेहनतले ‘दान्भी’मा एक्सन गर्न सजिलो भएको बताए । निर्देशक रुपेश तामाङले फिल्म राम्रो बनेकोमा आफू ढुक्क रहेको बताए । नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । चलचित्रमा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

चलचित्रमा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।