मेरो कन्टेन्टमा नहाँस्ने हुन् कि भन्ने डर लाग्थ्योः कमेडी च्याम्पियन ३ विजेता सुनिल खड्का

...

असार, काठमाडौँ । कमेडी च्याम्पियन सिजन ३ का विजेता सुनिल खड्काले पुरस्कारमा नगद २५ लाख र नेटा भिको ईलेक्ट्रिक कार पाएका छन् । शनिबार राती सम्पन्न ग्रान्ड फिनालेमा उनी विजेता भएसँगै ऋषभ काफ्ले फर्स्ट रनरअप र सुयशा खनाल सेकेन्ड रनरअप बनिन् । बिगत लामो समयदेखी कलाकारितामै संघर्ष गर्दै आएका काठमाडौंका सुनिल विजेता भएसँगै हातमा ट्रफि लिँदै थिएँ । स्टुडियोबाट बाहिर राखिएको नयाँ कारको अगाडी बसेर तस्बिर लिँदै गर्दा आर्टिष्ट खबरका श्यामहरी शिवभक्तीले केहि प्रश्न गर्नुभएको छ ।

अन्ततः हातमा ट्रफि लिन सफल हुनुभयो, लागेको थियो म विजेता नै बन्छु भन्ने ?
कोशिस थियो । हरेक राउण्डमा राम्रो गरौं भन्ने हुन्थ्यो । राम्रो गर्दा गर्दै फिनालेमा आइयो । सबै दर्शकको मायाले गर्दा आज यहाँ सम्म आउन सफल भएँ । सजिलो चाँही थिएन, प्रतिस्पर्धी सबै उत्तिकै राम्रो हुनुहुन्थ्यो । दर्शकले दिएको मायालाई धन्यवाद दिन्छु ।

पुरस्कारमा कार पाउनुभएको छ, चलाउन आउन कि नाई ?
चलाउन त आउँदैन, अब सिक्नुपर्छ ।

पुरस्कारमा पाएको नगद २५ लाखले के गर्ने सोँच छ ?
यो पैसाले के गर्छु भन्ने सोचेकै छैन । पहिल्यै जित्छु भनेर प्लान बनाएको भएँ सोचिन्थ्यो होला, अहिलेसम्म केहि सोचेकै छैन ।

प्राय रियालिटी शोहरुमा आफैले भोट गरेर जित्छन् भन्छन् कि भोटमा कति पैसा खर्च भयो ?
मैले आफैले भन्दा पनि मेरा दर्शकले, शुभचिन्तकले भोट गरिदिनुभयो त्यसका लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु । कतिपयले ल भोट हाल्नु भनेर पैसा पठाइदिनुहुन्थ्यो, त्यो पैसाको पनि मैले भोट नै होलेको हुँ ।

सिजन ३ सकिदै गर्दा, आफ्नै प्रस्तुती आफैलाई सबैभन्दा राम्रो लागेको कुन थियो ?
मैले सकेसम्म भेरियसन ल्याउने कोसिस गरेको थिएँ । किसानको गरेँ, प्रोडक्सन म्यानेजर, ट्राफिकको गरेँ । त्यसमध्ये पनि मन परेको मलाई झाँकीको प्रस्तुती हो । त्यस्तै अर्को हाकिम साहेवको प्रस्तुतीलाई पनि दर्शकले उत्तिकै माया गरिदिनुभएको थियो ।

sunil-khadka-comedy-champion-winner.jpg

तपाईसँगै फिनालेमा प्रतिस्पर्धा गर्नुभएको ऋषभ र सुयसालाई के भन्नुहुन्छ ?
उनीहरुको मिहिनत हेरेर पनि मलाई धेरै मिहिनत गर्न मन लागेको हो, उनीहरुको प्रस्तुती हेरेपछि मलाई अझै राम्रो गर्नुपर्छ भन्ने हौसला मिल्थ्यो । उनीहरुको कन्टेन्ट हेरेपछि कतै मेरो कन्टेन्टमा नहाँस्ने हुन् कि भनेर डर पनि लाग्थ्यो । उनीहरुसँग फेरी सहकार्य गरिन्छ पक्कै ।

कमेडी च्याम्पियनको पहिलो र दोस्रो सिजनको तुलनामा तेस्रो सिजन हिट हुन सकेन नि, यसमा के भन्नुहुन्छ ?
पहिलो र दोस्रो सिजन हिट भएकै हो । यसो भनिरहँदा अहिलेको तेस्रो सिजनमा पनि भेरियसन थियो, क्यारेक्टर कमेडीले गर्दा कन्टेन्ट फरक थियो जस्तो लाग्छ । पहिलाका सिजनहरुका दाईहरुको फ्यान फ्लोइङ राम्रो थियो त्यसैले पनि हिट भएको होला ।

पहिलो सिजन र दोस्रो सिजनको मन पर्ने र तपाईले फ्लो गर्ने कमेडीयन कोको हुनुहुन्थ्यो ?
पहिलो सिजनका हिमेश पन्त, सुमन कार्की र सुमन कोइराला दाईहरु मलाई निकै मन पथ्र्यौ । यस्तै दोस्रो सिजनका भरतमणी पौडेल, बिक्की अगरवाल, सन्तोष थापा दाईहरुको प्रस्तुतीलाई फ्लो गरिरहन्थेँ । यस्तै कैलाश कार्की दाईको पनि निकै राम्रो लाग्छ ।

म पनि तेस्रो सिजनमा प्रतिस्पर्धामा जानुपर्छ भन्ने सोंच कसरी आयो ? कसैले प्रोत्साहन गर्नुभयो ?
म यहाँ आउनुभन्दा पहिला थिएटर कलाकार हुँ । थिएटरमा हुँदै गर्दा दोस्रो सिजनका सेकेण्ड रनरअप सन्तोष थापा दाईसँग भेट भइरहन्थ्यो । राम्रो गर्ने मान्छे किन कमेडी छाडेको, एकपटक कमेडी च्याम्पियनमा जाउ भनेर हौसला दिनुहुन्थ्यो । दाईहरुकै सपोर्टले यहाँ पनि आइयो ।

आगामी यात्रा कसरी अगाडी बढाउने सोँचमा हुनहुुन्छ ।
म थिएटर सँग स्टेज कार्यक्रमहरु गर्दै अगाडी बढ्ने सोँचमा छ । यहाँ आइसकेपछि एउटा स्क्रिप्ट लेख्ने राम्रो बानी बसेको छ । क्यारेक्टर कमेडीमा पनि अभिनय हुन्छ । अफर आयो भने फिल्ममा पनि काम गर्ने सोँचमा छु ।

हास्य क्षेत्रका तपाईलाई मन पर्ने कमेडीयन को हुनुहुन्छ ?
मलाई महजोडी निकै मनपर्छ । सानैदेखी उहाँहरुको कमेडी हेरेर हुर्किएको हुँ । त्यस्तै सन्तोष पन्तको कमेडी पनि मनपर्छ । उहाँहरुको प्रस्तुती हेरेर सिक्दै छु ।

Video: