‘जन्ते बाख्रो’मा सौगात पछि आशिफ शाह अनुबन्धित

...

साउन, काठमाडौँ । नयाँ चलचित्र ‘जन्ते बाख्रो’मा अभिनेता आशिफ शाह अनुबन्धित भएका छन् । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने यो लचचित्रको मुख्य भुमिकामा यसअघि अभिनेता सौगात मल्ल अनुबन्धित भैसकेका छन् । चलचित्रमा आशिफको पनि मुख्य भुमिका नै रहने बताइएको छ ।

निर्देशक सिमोस सुनुवार हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो रोडिजमा व्यस्त भएसँगै चलचित्रको छायांकन तिहार पश्चात गर्ने तयारी निर्माण कम्पनिको छ । चलचित्रको मुख्य अभिनेत्री लगायतका केही कलाकारका लागि अडिसन आव्हान गरिएको छ । जसको छनोट काम केही दिनमा सुरु हुने निर्देशक सिमोसले बताए । चलचित्रको अडिसनमा सहभागी हुन देशभरबाट करिब ४ सय बढिले आवेदन दिएका छन् ।

चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । कमेडी कथावस्तुमा चलचित्र ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ । बेहुली भित्र्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । चलचित्रको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ । चलचित्रको छायांकन हरि हुँमागाईले गर्नेछन् ।