‘ज्वाई साब’को फस्टलुकमा जितु र नीतिको बिहे

...

साउन, काठमाडौँ । बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘ज्वाई साब’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति फाइनल गरेको हो ।

यो चलचित्रलाई असोजको २४ गते फूलपातिबाट देशभरका हलमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । चलचित्रको एक गीतको मात्र छायांकन गर्न बाँकी छ । हाल चलचित्रको धमाधम पोष्ट प्रोडक्शनको काम भइरहेको छ ।

दशैंको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माणपक्ष लागेको देखिन्छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो चलचित्रको शिर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई नायिका नीति शाहले साथ दिएकी छिन् । चलचित्रमा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रका प्रस्तुततकर्ता पण्डितले सबैसँग सल्लाहा गरेर फूलपातिमा चलचित्र रिलिज गर्न लागिएको जानकारी दिए । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
यो चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।