द भ्वाइस किड्स सिजन ३ को बिजेता बनिन् अनुया तामाङ

...

भदौ, काठमाडौँ । द भ्वाइस किड्स सिजन ३ को फिनालेबाट अनुया तामाङ बिजेता बनेकी छिन् । उनी कोच प्रमोद खरेलको टिममा थिइन् । फिनालेमा भएको ८ जनाबिचको प्रतिस्पर्धामा उनले अत्यधिक भोट ल्याउँदै बिजेताको ट्रफि उचालिन् । योसँगै कोच प्रमोद खरेल द भ्वाइस किड्समा लगातार ३ पटकको बिजेता बनेका छन् । सिजन ३ मा अनुया बिजेता बनेसँगै १० लाख नगद र अन्य पुरस्कार प्राप्त गरिन् ।

अनुया अमेरिकामा जन्मिएकी हुन् । उनलाई राम्रोसँग नेपाली भाषामा बोल्न नआएपनि उनले नेपाली गीत भने राम्रोसँग गाउन सक्छिन् । उनी ६ महिना अघि बुबा ओमा तामाङ नेपाल आएकी हुन् । बिजेता बनेसँगै आर्टिष्ट खबरसँग कुरा गर्ने क्रममा अनुयाले निकै खुसी र साथीहरुसँग छुट्नुपर्दा अलिअलि दुख लागेको भन्दै अनुभव सुनाइन् । साथै उनका बुबा ओमले छोरीलाई नेपाली भाषा र सँस्कृति सिकाउने उद्धेश्यका साथ नेपालमा ल्याएर भ्वाइस किड्समा लगाएको बताउँछन् ।

कोच प्रमोद खरेलले द भ्वाइस किड्सको इतिहासमा तीनपटककै आफूले जित्न पाउँदा खुसी लागेको भन्दै दर्शकलाई धन्यवाद दिए । उनले अमेरिकाकी ट्यालेन्टले जित्दै गर्दा पैसाकै कारणले भोट किनेर जितियो कि भन्ने प्रश्नमा यसो भन्छन्, ‘पैसाले जितियो भन्दै गर्दा अनुयाको ट्यालेन्टलाई पनि नजरअन्दास गर्नुहुन्न । अनुया पनि बिजेता बन्न लायक ट्यालेन्ट हुन्छ । भोट गर्न पाउने त नियम नै छ ।’
यसैबिच बुबा ओमले भने आफूले छोरीका लागी भोटमा खर्च नगरेको बताए । उनले आफूसँग भोट गर्ने पैसा नभएको र सबै उनलाई माया गर्ने दर्शक र साथीभाई, आफन्तबाट भोट आएको भन्दै धन्यवाद ब्यक्त गरे ।

द भ्वाइस किड्स सिजन ३ मा कोचको रुपमा प्रमोद खरेल, मिलन नेवार, मेलिना राई र छेवाङ लामा रहेका थिए ।

तस्बिरः गोपिकृष्ण चापागाईँ/ आर्टिष्ट खबर