पक्राउ परेपछि पुरुषोत्तम भन्छन्, ‘तास नै भित्रिन दिनु हुँदैन’

...

काठमाडौं ।कलाकार पुरुषोत्तम आचार्य सहित साउन २६ गते शनिबार ११ जना जुवातास खेल्दै गर्दा पक्राउ परे । काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट साँझको समयमा कलाकार आचार्यसहित ११ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका थिए ।आचार्य ‘सक्किगोनि’ मा प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिने गरेका छन् ।

प्रहरीका अनुसार, काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । राजुसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको थियो । नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा एक रात राखिएको थियो ।

कलाकार पुरुषोत्तम आचार्य रिहा भइसकेपछि आर्टिष्ट खबरसँग केहि कुरा गरेका छन् । आर्टिष्ट खबरका श्यामहरी शिवभक्तीसँग गरिएको संक्षिप्त कुराकानी:

१. प्रहरीले पक्राउ गरेको दिनको घटना सुनाउनुस् न ।
शनिबारको दिन थियो । साउनको २६ गते को कुरा हो । बिहान पशुपति मन्दिर गएर बुबा आमाको तुलादान गर्यौँ र घर फर्कियौं । घरको माहोल रमाइलो थियो । त्यतिकैमा एउटा फोन आयो । तपाई आउनुपर्यो । हाम्रो पुर्व मन्त्री ज्यूले बोलाउनुभएको छ, भेटघाट पनि हुन्छ । खसी पनि काटेको छ, रमाइलो पनि गरौंला भनेपछि । हुन्छ कि एकदुई घण्टाका लागी आउँछु भनेर म त्यहाँ ३ बजे पुगेको थिएँ । सबैजना सोलुखुम्बुको साथीहरु हुनुहुन्थ्यो । पुर्वमन्त्री तथा अहिलेका सांसद बुद्धि कुमार राज भण्डारी सहित अन्य साथीहरु हुनुहुन्थ्यो । खानपिन गरेपछि एकछिन तास खेलौं न त रमाइलो पनि हुन्छ भनेर बसियो । केहिबेर खेल्दै गर्दा ढोकामा ढकढक आवाज आयो, को आयो भन्दा गौशाला वृत्तका प्रहरी साथीहरु आउनुभएको रहेछ । समाचारमा आएजस्तो ११ जनानै खेलेको होइन । ६ जना मात्र खेलेका थियौँ । अन्य खाना पकाउने देखी हेर्ने सबै गरेर ११ जना सबैजना जानुपर्यो भन्नुभयो । केहिबेर गल्ति भएकै हो, कानुनले नदिएको कुरा खेलेकै हो । माफी पनि माग्यौं तर प्रहरी बृत्तमै जानुपर्छ भनेपछि हामी गाडीमा गएका हौं ।

२. एक रात हिरासतमा बस्नु भयो ?
त्यो दिन शनिबार बिदाको दिन भएकाले पनि अर्को दिनसम्म बसेका हौं । अन्य हिरासतमा राख्ने जसरी भन्दा पनि मिटिङ हलमा राख्नुभयो । आइतबार कानुनी काम गरेर दिउँसो ३ बजे फर्कियौं ।

३. तपाई आफै पुर्व प्रहरी हुनुहुन्छ, यस्तो घटनामा प्रहरी हिरासतमा मुछिदा लज्जास्पद भएन ?
कस्तो कुरालाई लज्जास्पद भन्ने कुरा हो । यो घटना भनेको सामान्य घरमा बसेर रमाइलोका लागी खेलेको कुरा हो । अन्य ठुला करोडौं रकमको भ्रष्टाचार, बलात्कारीको घटनामा परेको होइन ।

४. तपाई एक कलाकार । कलाकारले त झन् समाजमा नखेलौं भन्ने सन्देश दिनुपर्छ । झन् नराम्रो सन्देश गयो नि ।
कलाकार पनि मान्छे हुन् । कहिले काँही सानो रमाइलो गर्नका लागी प्रयोग गरिएको हुन सक्छ । तर समाचार बन्दा कलाकार पक्राउ, यति धेरै रकम सहित पक्राउ भनेर सनसनी बनाउनु राम्रो होइन । यो कुरामा पनि के भन्छु भने तास नै नेपालमा भित्रिन दिनुहुँदैन ।

५. तपाईका शुभचिन्तकहरुलाई के भन्नुहुन्छ ?
शुभचिन्तकहरुलाई त के भनौं, गल्ति भएकै हो । तर नेपाल सरकारलाई म के भन्न चाहान्छु भने जुवातास भन्सार लिएर आयात गर्न मिल्ने तर खेल्न नमिल्ने ? खेल्न नमिल्ने कुरा आयात नै नगरौं भन्न चाहान्छु । जानी जानी तास भित्रिन दिने तर छुनै नदिने गरिन्छ । त्यसैले भित्रिनै दिनुहुँदैन भन्छु ।

भिडिओ कुराकानी हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् ।