मैले सुपरस्टार बन्ने सोँच कहिल्यै राखिनः कंगना

...

मुम्बई । अभिनेत्री, फिल्ममेकर सँगै अहिले राजनीतिज्ञ बनेकी बलिउड अभिनेत्री कंगना रनौत आफ्नो चलचित्र ‘इमर्जेन्सी’ बाट बलिउडमा पुनरागमन गर्दैछिन् । यस चलचित्रमा कंगना रनौत भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । कंगनाले यस इमर्जेन्सी चलचित्रमा मात्र अभिनय गरेकी छैनन्, निर्देशन र निर्माण पनि गरेकी छिन् ।

बिना गडफादर बलिउडमा यो स्थानमा पुगेकी कंगना कहिल्यै पनि कुनै समूहको हिस्सा भएकी थिइनन् र यही कारणले उनलाई अन्य अभिनेत्रीभन्दा फरक बनाएको छ । हालै बलिउड हंगामालाई दिएको एक विशेष अन्तर्वार्तामा कंगनाले बलिउडको ग्रुपवादको बारेमा खुलेर कुरा गरेकी थिइन् । उनले आफू कुनै पनि ग्रुपिजममा सामेल नभएको बताएकी छिन् ।

अन्तर्वार्तामा जब कंगनालाई सोधिएको थियो, तपाई सन् २००४ मा फिल्म इन्डस्ट्रीमा आउनुभएको थियो, तपाईलाई कहिल्यै लागेन कुनै ग्रुपमा सामेल हुँदा काम पाउन सजिलो होला भनेर ? कंगनाले भनेकी छिन्, ‘मेरो यात्रा अलि फरक छ । जब तपाई सुपरस्टार बन्नु पर्छ भन्ने भावना लिएर आउनुहुन्छ, तब त्यो तपाईको कमजोरी बन्छ । तपाईले आफ्नो काम गरिरहनु पर्छ र त्यसपछि जीवनले तपाईलाई कहाँ लैजान्छ हेर्नुपर्छ । म आफ्नो काम गरिरहेकी छु, पहिले अभिनय, त्यसपछि निर्देशन, निर्माण, लेखन, म मात्रै गरिरहेकी छु । यो मामिलामा मैले आफ्नो कमजोरी बनाएको छैन ।’

Kangana Ranaut

कंगनाले अगाडी भन्छिन्, ‘आजका युवाहरूले आफूलाई सीमित राख्छन्। हो, म मेरो शिल्पमा अझ राम्रो हुन चाहन्छु। मलाई जुनसुकै काम सुम्पिइन्छ, पूर्ण लगनशीलताका साथ पूरा गर्छु । जब मैले फेसन फिल्म पाएँ, प्रियंका चोपडा मिस वर्ल्ड थिइन् र बाँकी स्टारहरू शीर्ष मोडेलहरू थिए । म मात्र थिएटरबाट आएको थिएँ। त्यसैले १५–२० मिनेटको भूमिका पाए पनि म त्यसको लागि महिनौंसम्म रिहर्सल गर्थेँ । फिल्म चल्दा मेरो नियत कसैलाई निराश पार्ने र धेरै अवार्ड जित्ने थिएन । मेरो एउटै चाहना छ कि मलाई जुन काम सुम्पियो, त्यो राम्ररी पूरा गरोस् । कामप्रतिको यही गम्भीरतालाई मैले आफ्नो काममा सधैं राखेको छु । मानिसमा नम्रता हुनुपर्छ जुन आजको पुस्तामा छैन । काम गर्नुभन्दा अगाडि नै नतिजाको खोजीमा छौं । यस्तो सोच्ने पुस्ता रहिरह्यो भने देशको के होला भन्ने डर धेरै पटक लाग्छ ।’

चलचित्र इमर्जेन्सीमा कंगनासँगै अनुपम खेर, महिमा चौधरी, मिलिन्द सोमन, श्रेयस तलपदे र स्वर्गीय सतीश कौशिक लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । यो चलचित्र आगामी सेप्टेम्बर ६ मा हलमा प्रदर्शन हुने तयारीमा छ ।