मेरो हरेक प्रोजेक्टले नै नयाँ जन्म दिए जस्तो लाग्छः धिरज मगर

...

काठमाडौँ । अभिनेता धिरज मगरले आफूले गरेका हरेक चलचित्रको कामले आफूलाई पुनर्जन्म दिएको जस्तो लागेको बताएका छन् । आइतबार चलचित्र ‘खुस्मा’को गीत सार्वजनिक समारोहमा ‘खुस्मा’मा गरेको कामले धिरजलाई पुनर्जन्म दिन्छ भन्छन् नि तपाईलाई त्यस्तो लाग्छ भन्ने सन्चारकर्मीको प्रश्नमा धिरजले भनेका छन्, ‘मलाई मैले गर्ने हरेक नयाँ प्रोजेक्टले नै नयाँ जन्म लिएको जस्तो लाग्छ ।’

धिरजले चलचित्र ‘खुस्मा’को स्क्रिप्ट सुन्दा आफूलाई निकै फरक लागेकाले काम गर्न राजी भएको बताएका छन् । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक गरिएको छ ।

गीतमा एसडी योगीको संगीत निर्देशन छ भने सुरेन्द्र रानाले शब्द लेखेका छन् । गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ । चलचित्रको यो गीतमा चलचित्रका मुख्य कलाकार धिरज र उपासनासँग अन्य कलाकारहरु फिचर्ड छन् । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् ।