चलचित्र ‘रंगी’ निर्माण हुने

...

काठमाडौं । नयाँ चलचित्र ‘रंगी’ निर्माण हुने भएको छ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने यो चलचित्रको प्रस्तुतकर्तामा सलोन बस्नेतको नाम छ । यस्तै सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने बताइएको छ ।

निर्देशक न्यौपानेसँग चलचित्र ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ । निर्माण पक्षले चलचित्रको टाइटल पोस्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।

सक्षम सुवेदीको निर्माण रहने चलचित्र सुमन गजमेरको लेखन छ । फिल्ममा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् । चलचित्र लागि कलाकार फाइनल भइसकेका छैनन् ।