‘काठमाण्डु शहर’को भिडिओलाई ‘थ्री सिटिज ट्रिलोजी’ को अन्तिम भागको रुपमा सार्वजनिक

...

काठमाडौँ । नेपाली रक ब्याण्ड् झिल्के एण्ड द कम्पनीले गीत ‘काठमाण्डु शहर’ को म्युजिक भिडियोलाई ‘थ्री सिटिज ट्रिलोजी’ को अन्तिम भागको रुपमा सार्वजनिक गरेको छ । यो भिडियोलाई व्याण्डले काठमाडौं, झापा र दार्जिलिङमा फैलिएका सांस्कृतिक प्रभावको समृद्धि मनाउने भावनात्मक संगीत भिडियोहरुको श्रृङ्खला मानेको छ ।

यो भिडियो उनीहरुको एल्बम ‘जवानीको जोश’ को तेस्रो म्युजिक भिडियो हो । गीतका गायक तथा गीतकार स्टिभ देवान ‘थ्रि सिटिज ट्रिलोजी’लाई ब्याण्डको आधारको मार्मिक अन्वेषणसँगै व्यक्तिगत इतिहाससँग जोडिएको दस्तावेज मान्छन् ।

‘मेरो परिवारको काठमाडौं, झापा र दार्जिलिङसँग गहिरो सम्बन्ध छ । हुर्कदै गर्दा, मैले यी विभिन्न स्थानहरुका परिवारहरुबाट विविध संस्कृतिहरुको अनुभव पाएँ,गीतबारे उनी भन्छन्, ‘यी हरेक स्थानले मेरो बाल्यकालको सम्झना समेट्नुका साथै ब्याण्डको पहिचानलाई आकार दिने सांस्कृतिक, कलात्मक र सांगीतिक प्रभावहरुको प्रमाणको रुपमा काम गरेको छ ।’

‘जवानीको जोश’ एल्बमको कथासँग थ्रि सिटिज ट्रिलोजी निर्वाध रुपमा मिलेको छ, जसले काठमाडौंमा द्वन्द्वकालको पृष्ठभूमिमा हुर्किएको एक युवकको जीवनको कथा बताउँछ । पहिलो भिडियो ‘१८२’, मार्च २८, २०२४ मा रिलिज भएको थियो, जसमा रक एण्ड रोल, पंक–रक, शु–गेज र अल्टरनेटिभ रकको तत्वहरु मिसाई गीतको शीर्षक विश्वव्यापी चर्चित ब्याण्ड ब्लिन्क १८२ प्रति समर्पित थियो ।

झापामा छायांकन गरिएको उक्त भिडियोले वास्तविकता र सपनाबीचको सीमानालाई पछ्याउँदै आफ्नो पहिचान खोज्ने युवकको चित्रण गरेको थियो । त्यसपछि रिलिज भएको ‘कान्छी तिम्रो नराम्रो बानी’ दार्जिलिङमा छायांकन गरिएको थियो, जसमा क्लासिक रकको धुनमा प्रेम र त्रासदीका विषयवस्तुहरु जोड्ने एक कथा प्रस्तुत गरिएको थियो । ‘काठमाण्डु शहर’ झिल्के एण्ड द कम्पनीबाट उनीहरुको कलात्मक यात्रामा गहिरो प्रभाव पारेको शहर प्रति भावपूर्ण रुपमा समर्पित गीत हो ।

युनेस्को विश्व सम्पदा क्षेत्र काठमाडौं दरबार स्क्वायरमा छायांकन गरिएको गीतले दरबार स्क्वायरको ऐतिहासिक र सांस्कृतिक महत्वलाई जोड दिएको छ । भिडियाको निर्माण कम्पनी, पिभिई नेटवर्कका विकेश कायस्थ सहरको सम्पदाका लागि दरबार स्क्वायर महत्वपूर्ण रहेकाले यो स्थान छनोट गरिएको बताउँछन् ।