कस्तो छ ‘तेल भिसा’को ‘कति रमाइलो’ गीत

...

काठमाडौँ । शंकर घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’को तेस्रो गीत कति रमाइलो सार्वजनिक भएसँगै चर्चा बढ्न थोको छ । गएको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबा बीच सार्वजनिक गीतमा सिनेमाकी मुख्य अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ ।

चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले श्रृंखलाबद्ध रुपमा प्रचार सामाग्रीहरु पोस्टर तथा गीतहरु सार्वजनिक गरिरहेको छ । चलचित्रको यसअघि केही पोस्टर तथा ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीत सार्वजनिक गरिएका थिए । मंगलबार सार्वजनिक गरिएको गीत अमेरिकामा खिचिएको हो । अञ्जु पन्त र आशिष अविरलको गायन रहेको गीतमा एक नारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ ।

शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडिओमा अमेरिकामा रहँदै आएका कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर प्रस्तुत छन् । उनीहरुसँगै चलचित्रका मुख्य कलाकारहरु वर्षासहित विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेलाई पनि भिडियोमा फिचर्ड छन् । सिनेमाको सार्वजनिक गीतले दर्शकमाझ उत्सुकता पैदा गर्ने देखिन्छ ।

चलचित्रको गीत रिलिज कार्यक्रममा ऋचाले १० वर्षपछि नेपाली चलचित्रमा काम गर्दा एकदमै उर्जा महसुस भएको अनुभव सुनाइन् । ‘तेल भिसा’को छायांकन पश्चात नाटक खेल्न अमेरिका पुगेकी अभिनेत्री वर्षा राउत पनि सिनेमाको गीत रिलिज कार्यक्रममा उपस्थित थिइन् । उनी अमेरिकामा मञ्चन भैरहेको नाटकको कामलाई केही समयलाई स्थगित गर्दै यो सिनेमाको प्रचार र दशैं तिहार मनाउन नेपाल फर्केकी हुन् । भाइटीकाको भोली पल्टै उनी नाटक खेल्न फेरी अमेरिका उड्ने तयारीमा छिन् । यो हप्ता उनी यो सिनेमाको प्रचारमा व्यस्त हुने तालिका रहेको गीत रिलिज कार्यक्रममा जानकारी दिइन् ।

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ । यो सिनेमामा विपिनले बुबा र छोराको गरी दोहोरो भूमिका निभाएका छन् । उनी यतिवेला उनको स्वीटर सिनेमाको छायांकनको लागि पाँचथरमा रहेकाले यो सिनेमाको गीत रिलिज कार्यक्रममा उपस्थित थिएनन् ।

वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् । चलचित्रको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन छ । चलचित्रको ट्रेलर आगामी आइतबार गर्ने तयारी निर्माण टिमको छ ।