
काठमाडौँ । ७२ औं विश्व सुन्दरी प्रतियोगिता ‘मिस वल्र्ड’को आयोजना भारतको तेलङ्गानामा हुने भएको छ । बैशाख २१ देखि जेठ १७ सम्म मे ४ देखि ३१ तारिखसम्म प्रतियोगिता हुन लागेको हो । मिस वल्र्ड लिमिटेडकी अध्यक्ष तथा सीईओ जुलिया मोर्ले, तेलङ्गानाकी पर्यटन, संस्कृति, सम्पदा तथा युवा मामिला विभागकी सचिव स्मिता सभरवालले यसको आधिकारिक घोषणा गरे ।
मिस नेपाल आयोजक संस्था ‘द हिडन ट्रेजर’ले पनि यसको आधिकारिक पुष्टि गरेको छ । २८ दिनसम्म चल्ने मिस वल्र्डमा १२० सुन्दरीले भाग लिनेछन् । नेपालबाट मिस नेपाल २०२३ सृच्छा प्रधानले सहभागिता जनाउने पक्का भएको छ । फिनाले मे ३१ (जेठ १७) गते हैदराबादमा आयोजना हुनेछ ।
मिस वल्र्डको आधिकारिक वेबसाइटले तेलङ्गानाका विभिन्न स्थानमा प्रतियोगिता हुने जनाएको छ । उद्घाटन र समापन समारोह हैदराबादमा हुनेछ ।