काठमाडौं । सन्तोष सेनले निर्देशन गरेको फिल्म बलिदानको नयाँ पोस्टर सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा नव-अभिनेत्री कविता रायलाई प्रस्तुत गरिएको छ। फिल्ममा उनी किरण पात्रको भूमिकामा देखिनेछिन्। पोस्टरमा किरणु पात्र एक हिंसात्मक र संघर्षपूर्ण अवस्थामा देखिन्छिन्। उनको अनुहार र हातमा रगत लागेको छ। हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ। उनको एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ। समग्रमा पोस्टरले एक महिला पात्रको संघर्ष, हिंसा, प्रतिरोध र बलिदानको कथा भन्न खोजेको स्पष्ट छ।
फिल्मका निर्देशक सेनले बलिदानमा राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा तर नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताए, जुन वर्गलाई उनले यस फिल्ममा भिल्ला वर्ग नाम दिएका छन् र त्यो समुदाय बस्ने स्थानलाई भिल्लमगढ नामाकरण गरेका छन्। सो वर्ग नेपालको तराई क्षेत्रका समुदायसँग मिल्दोजुल्दो छ।
सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको आवश्यकतालाई मध्यनजर गरी अडिसनमार्फत कविता रायलाई छनोट गरिएको थियो। फिल्ममा अभिनेता समीर भट्ट मुख्य भूमिकामा छन्। साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतका कलाकारको अभिनय रहेको छ। फिल्म आसुसेन फिल्म्स प्रालीको प्रस्तुति हो। यसका निर्माता पवन ब्राडफोर्ड विस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन्। यो फिल्म दसैंको फूलपातीदेखि प्रदर्शन हुनेछ।







२३ फाल्गुन २०८१, शुक्रबार १७:३१ 








