
काठमाडौं । गायिका आनी छोइङ डोल्माको लोकप्रिय गीत ‘फूलको आँखामा फूलै संसार’ अब हिन्दीमा पनि रेकर्ड हुने भएको छ । हिन्दी भाषामा अनुवाद गरेर यो गीत रेकर्ड गर्न लागिएको हो । भारतीय गीतकार गुलजारले यो गीत अनुवादसमेत गरिसकेका छन् । दुर्गालाल श्रेष्ठले लेखेको गीत गुलजारले हिन्दीमा अनुवाद गरेका हुन् ।
हिन्दीमा पनि आनी स्वयंले यो गीत गाउने छिन् । नेपाली भाषामा गाइएको गीतमा न्यूह् बज्राचार्यको संगीत रहेको छ । संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । मुम्बईमा आनीको कन्सर्ट हुँदा गुलजारसँग उनको भेट भएको थियो । आनीको कन्सर्ट हेर्न आएका गुलजारसँग उनको त्यहीँ भेट भएको आनीले बताइन् । गुलजार आनीलाई पोमो (छोरी) भनेर सम्बोधन गर्छन् ।