दिलीप रायमाझी नेपाल आउँदै

...

काठमाडौं। अभिनेता दिलीप रायमाझी फिल्म ‘हेल्लो काँशीराम’को प्रमोशनका लागि नेपाल आउने भएका छन् । उनी २ हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेलाइन फिल्मस् प्रा.लीले जानकारी दिएको छ । पारिवारिक कामका लागि दिलीप केहि समय अघि अमेरिका प्रस्थान गरेका थिए । उनी अमेरिका गएको १ महिनामै नेपाल फर्किन लागेका हुन् । दिलीप नेपाल फर्किनासाथ केहि मिडियामा अन्तरवार्ता, भेटघाट र दर्शक भेटघाटमा व्यस्त हुने निर्माण कम्पनिले जनाएको छ ।‘हेल्लो काँशीराम आगामी जेठ २ गतेबाट देशभरका हलमा एकसाथ सार्वजनिक हुँदैछ ।

‘हेल्लो काँशीराम’ केहि दिन अघि मात्रै सेन्सर पास भएको थियो । यस फिल्मलाई केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट दिइएको छ । अब हरेक वर्गका दर्शकले ‘हेल्लो काँशीराम’ सजिलै हेर्न पाउनेछन् । त्यस्तै केहि समय अघि फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । उक्त पोस्टरमा दिलीप रायमाझीले बोको बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान तानेको छ । निर्माता, निर्देशक तथा अन्य कलाकारहरु भने प्रमोशनमा जुटिरहेका छन् ।

फिल्ममा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हाँस्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरु पनि फिल्ममा देख्न पाइनेछ । यस फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भुमिका रहेको निर्माण टिमले जनाएको छ ।  फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेर प्रचार थालेको फिल्मको टिजर र गीत छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।