काठमाडौँ। कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पछिल्लो समय धमाधम ‘छक्का पञ्जा ’ ब्यानर बाहिरका चलचित्रहरु साइन गरिरहेका छन्। उनले एक वर्षमा तीन फिल्म ‘जेरी अन टप’, ‘माग्ने राजा’ र ‘माइतीघर’को छायांकन भ्याइसकेका छन् । यसैबीच, उनी नयाँ फिल्म ‘जहाजैमा’मा अनुबन्धित भएका छन् ।
मंगलबार फिल्मका निर्माता उज्ज्वल गुरागाईँ र केदारबीच लिखित सम्झौता भएको हो । ‘पिताम्बर’की निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको यो फिल्ममा केदारको मुख्य भूमिका रहने जनाइएको छ । ‘माग्ने राजा’मा ६१ लाख लिएर सर्वाधिक महँगा कलाकार बनेका उनले ‘जहाजैमा’मा कति पारिश्रमिक लिएका छन् भन्ने चाहिँ खुलाइएको छैन ।
फिल्ममा यसअघि फिलिपिनी मुलकी जापानी अभिनेत्री रजेल इचिमिया अनुबन्धित भइसकेकी छन् । सन् २०२६ मा रिलिज लक्ष्य राखिएको फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने जनाइएको छ ।







११ असार २०८२, बुधबार १०:०६ 








