काठमाडौं । पाइलट रामेश्वर थापाको बायोग्राफीमा नयाँ नेपाली फिल्म बन्ने भएको छ । निर्देशक दिपेन्द्र के. खनालको निर्देशनमा बन्ने फिल्मको आज (बिहीबार) काठमाडौंमा शुभ मुर्हुत गर्दै औपचारिक निर्माणको घोषणा गरियो । फिल्मको नाम ‘क्याप्टेन साब’ राखिएको छ । पाइलट थापाको सार्वजनिक पुस्तक ‘इन टु द फायर’कै आधारमा फिल्म निर्माण हुने निर्देशक खनालले जानकारी दिएका छन् ।
फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भूमिका रहनेछ । अभिनेता खगेन्द्र पाइलट थापाको भूमिकामा रहनेछन् । सुरक्षाको भूमिका भने गोप्य राखिएको छ । फिल्ममा लगानी निर्देशक खनालसँगै करन श्रेष्ठ, स्रिस्टिमा खनालको रहनेछ भने सिर्जना नापित कार्यकारी निर्माताको भूमिकामा छिन् । ‘क्याप्टेन साब’को मूर्हत सटमा व्यवसायी डा. उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको फिल्मको छायांकन काठमाडौंसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । यो फिल्म भदौको पहिलो साताबाट छायांकनमा जाने बताइएको छ । निर्देशक दिपेन्द्र के खनालकै लेखन रहेको चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक, भीमसेन शाही ुरोयल भीमसेनु पोस्टर तथा पब्लिसिटी डिजाइन (ट्राइडेन्ट कन्सेप्ट), प्रोडक्सन डिजाइर अकी थेक्पा, रोहित राज गौतम र बिष्णु मैनाली प्रोडक्सन म्यानेजर, अकि ठेक्पा रहेका छन् ।
कार्यक्रममा कसले के भने ?
दिपेन्द्र के. खनाल, निर्देशक
‘मैले यो फिल्मलाई यसअघि जति फिल्म निर्देशन गरेँ, ति फिल्महरु भन्दा ठुलो क्यान्भासको र टेक्निकल्ली पनि धेरै फरक फिल्मको रुपमा लिएको छु । एकदिन क्याप्टेन साबको पुस्तक पढ्दै जाँदा उहाँको जीवनको कथालाई फिल्ममा उतार्नुपर्छ भन्ने लाग्यो । किनकी एक साधारण मानिसको भन्दा उहाँको भोगाई धेरै फरक छ । मैले नै उहाँलाई तपाईको जीवनीमा फिल्म बनाउँछु भन्ने प्रस्ताव गरेको हुँ । सुरुमा त उहाँ हास्नुभयो, पछि मान्नुभयो ।’
खगेन्द्र लामिछाने, अभिनेता
‘म यो फिल्ममा काम गर्ने भनेपछि उत्साहितसँगै केहि डर पनि लागेको छ । किनकी क्याप्टेन साबको जीवनमा भोगेका कुरालाई फिल्ममा उतार्दै छौं, त्यो पनि साधारण छैन । कस्तो होला, के होला भन्ने कुरालाई लिएर फरक महसुस भइरहेको छ । र उहाँको जीवनीमा काम गर्न पाउँदा खुसी छु । क्याप्टेन साबसँग सन् २०१५ मा एकपटक भेट भएको थियो । त्यो समयमा उहाँले तपाईहरुको फिल्मका लागी हेलिकप्टर चाहियो भने भन्नुस् है म दिन्छु भन्नुभएको थियो । आज यसरी उहाँकै जीवनीमा फिल्ममा काम गर्न लेखेको रहेछ ।’
सुरक्षा पन्त, अभिनेत्री
‘मलाई खुसी लागेको छ, त्यसो त कसैको जीवनी भन्ने बित्तिकै सम्वेदनशील भएर काम गर्नुपर्ने हुन्छ । यो काम गर्न च्यालेन्ज पनि छ । ठुलो क्यान्भास भनिएको छ, त्यसैले म त निकै खुसी छु ।’

को हुन् पाइलट रामेश्वर थापा ?
सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा अनुभवी हेलिकप्टर पाइलट हुन्, जसले २० वर्षभन्दा बढीको करिअरमा १०,००० घण्टाभन्दा बढी उडान गरेका छन्। उनी नेपालका पहिलो एमआई–१७ कमर्सियल कमाण्डर तथा इन्स्ट्रक्टर पाइलट हुन्। बेल ४०७जीएक्सपी, एएस ३५०बी३ई (एच१२५) र बीके–११७ मा अनुभव प्राप्त थापाले नेपाली हवाइ पर्यटनको विकासमा अग्रसर भूमिका खेल्दै आएका छन् ।
उनी हाल एओएएन (AOAN) का अध्यक्ष तथा आफ्नै पहलमा स्थापना गरिएको हेलिकप्टर सोसाइटी अफ नेपालका संस्थापक अध्यक्ष पनि हुन्, जसले नेपालमा हेलिकप्टर सुरक्षाका मापदण्ड सुधार्न काम गरिरहेको छ। साथै, थापा अन्नपूर्ण मिडिया नेटवर्क (अन्नपूर्ण पोस्ट, रेडियो अन्नपूर्ण र एपीवान टिभी) का कार्यकारी अध्यक्ष तथा प्रमुख लगानीकर्ता पनि हुन् ।







२६ असार २०८२, बिहीबार १०:५७ 








