काठमाडौँ। कुनै समय मेलीनाले आफ्नो खर्च जुटाउन विद्यालयमा पुगेर नृत्य सिकाउने गर्थिन् । दुई वटा स्कुलमा नृत्य सिकाउँदा उनलाई ५ हजार रुपैयाँ आउँथ्यो । यसैले उनी आफ्नो खर्च चलाउँथिन् । तर अहिले उनले गायनबाट धेरै प्रगति गरीसकेकी छन् । १२ वर्षकै उमेरमा आफ्नै बुबाको शब्द रचना तथा सङ्गीत रहेको गीतमा उनले आवाज भरेकी थिइन् । त्यसपछि ०६५ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत गायन प्रतियोगितामा मेलिना राई प्रथम भइन् ।

सङ्गीत क्षेत्रमा उनको गाइँगुइँ सुरु भएको थियो । त्यसपछि झन्डै ७ वर्षसम्म गीतको कोरसमा आवाज दिइन् । तर, उनी कोरसमा मात्र सीमित भइनन् । त्यसपछि उनले ‘कम्मरमाथि पटुकी’ बोलको गीत गाउने अवसर पाईन् यही गीतले उनको आवाजको सर्वत्र चर्चा सुरु भयो । यो गीतले मेलिना हिट भइन् ।

अर्को ‘तिमीले बाटो फेरेऊ अरे’ बोलको गीत भने मेलिनाको करिअरमा कोसेढुंगा नै साबित भयो । उनकै स्वरमा रेकर्ड भएको गीत ‘कुटुमा कुटु’ ले त युट्युबमा सर्वाधिक १० करोड बढी भ्युज पाएको छ । यो सफलताले मेलिनाको करिअरमा कायापलट नै भयो ।

स्टुडियोदेखि स्टेज कार्यक्रमसम्म उनकै माग छ । केही समयअघि मेलीनाले विवाह गरेकी छन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गरेकी हुन् । इलामका ध्रुव पेसाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।







२२ श्रावण २०८२, बिहीबार १८:२६ 








