काठमाडौँ । चर्चित लोकरक ब्यान्ड नेपथ्य आफ्नो नयाँ अन्तर्राष्ट्रिय यात्राका लागि सोमबार जापान प्रस्थान गरेको छ । दुई वर्षपछि जापानी मञ्चमा फर्किन लागेको ब्यान्डले नागोया, टोकियो र ओसाकामा गरी तीन सहरमा श्रृंखलाबद्ध कन्सर्ट प्रस्तुत गर्नेछ।
कन्सर्टको सुरुवात नोभेम्बर १३ मा नागोयाको ‘नागोया लाइभ्स’ सभागृहबाट हुनेछ, जहाँ ब्यान्ड पहिलो पटक प्रस्तुत हुँदैछ। त्यसपछि नोभेम्बर १८ मा टोकियोको विश्वप्रसिद्ध ‘टोकियो डोम सिटी हल’ मा दोश्रो पटक नेपथ्यको प्रस्तुति हुनेछ। ब्यान्डले यसभन्दा सात वर्षअघि त्यही मञ्चमा पहिलोपटक प्रदर्शन गरेको थियो। अन्ततः नोभेम्बर २४ मा ओसाकाको ‘जेप ओसाका बे साइड’ हलमा नेपथ्यले आफ्नो यात्रा समाप्त गर्नेछ।
यस वर्षको जापान टुर ‘भिजोनिया’ समूहले संयोजन गरिरहेको छ। समूहका प्रमुख सुभाष लामिछानेका अनुसार, तयारी अन्तिम चरणमा पुगेको र टिकट बिक्री तीव्र गतिमा भइरहेको छ। उनका शब्दमा, “हामी कन्सर्टलाई भव्य बनाउन कुनै कसर बाँकी राखेका छैनौँ।”
तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले जापानसँग विशेष सम्बन्ध बनाएको छ। मुख्य गायक अमृत गुरुङले जापानका मीठा र तीतो दुवै सम्झनाहरू बोकेका छन्। उनले भने, “जापान हाम्रो संगीत यात्राको एउटा अध्याय हो, जसले धेरै भावनात्मक क्षणहरू सम्झाइरहन्छ।”
सन् २०१५ मा नेपथ्य जापान पुगेका बेला जापानी टेलिभिजन एनएचकेले ब्यान्ड र नेपाललाई चिनाउने विशेष रिपोर्ट प्रसारण गरेको थियो, जसले ब्यान्डको लोकप्रियता अझ बढाएको थियो।
यो पटकको टोलीमा मञ्चमा प्रस्तुति दिने ६ कलाकारका साथै ८ व्यवस्थापन तथा प्राविधिक सदस्यहरू पनि छन्। अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।
दर्शकहरूले ब्यान्डको आधिकारिक वेबसाइटमार्फत टिकट खरिद गर्न सक्ने व्यवस्था गरिएको आयोजकहरूले जनाएका छन्।







२५ कार्तिक २०८२, मंगलवार १५:४७ 








