संगीतकार तथा गायक बाबुल गिरी धरौटीमा रिहा

...

काठमाडौँ ।गायिका नितु पौडेल मृत फेला परेको घटनामा पक्राउ परेका संगीतकार तथा गायक बाबुल गिरी तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएपछि उनी बुधबार जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट मुक्त भएको प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

नितु पौडेलको मृत्युबारे अनुसन्धान चलिरहेका बेला गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार नितुले अनामनगरस्थित आफ्नो स्टुडियोमै आत्मदाह प्रयास गरेकी थिइन्, त्यसपछि उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ।

घटना बाहिरिएपछि पौडेल परिवारले अलगै दाबी गर्दै आएका छन्। उनीहरूका अनुसार नितु र बाबुलबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। परिवारको भनाइमा, गिरीले विवाह गर्न अस्वीकार गरेपछि नितु मनोवैज्ञानिकरूपमा तनावमा परेकी थिइन्, जसले उनलाई चरम कदम चाल्न बाध्य बनायो।

यसैबीच, बाबुल गिरीबारे थप प्रमाण संकलन गर्ने काम अझै जारी रहेको प्रहरीको भनाइ छ।