काठमाडौं । अहिलेको समयमा गाउँघरमा प्रयोग हुने शब्दहरु निकै कम प्रयोग हुन्छन् । अझ शहरमा त्यस्ता शब्दहरु लोप नै हुन लागिसके । अहिलेको जेनेरेशनले नेपाली ठेट भाषा बोल्न नसक्ने अवस्था आइसक्यो । यसैबिच कतिपय चलचित्र तथा गीतसंगीतले ठेट भाषा, शब्दहरुको जर्गेना गरिरहेका हुन्छन् । यहिक्रममा ‘खुर्पेटो आँसी’ बोलको गीत सार्वजनिक भएसँगै ठेट शब्दलाई जोगाउन पहल गरेको देखिन्छ ।
गीतको भिडियो हेर्दैगर्दा पनि धेरैलाई बुझ्न सजिलो हुन्छ । बाबु कौसल र शान्तिश्री परियारको स्वर रहेको गीतमा रेशम निर्दोषको शब्द, संगीत छन् । गीतको भिडियोमा दुई महिला कलाकार स्नेशा जोशी र प्रियंका नेपालीको पछिपछि खुर्पेटो आँसी बोकेका दुई युवाहरु छन् । स्नेहा र प्रियंकाको साथमा आर.के परियार र बिक्रम परियार खुर्पेटो अँसी बोकेर पछिपछि लाग्दैछन् । भिडियोलाई पनि रेशम निर्दोषले नै निर्देशन गरेका हुन् । कोरियोग्राफी भने राजाराम सिम्खडाले गरेका हुन् । महेश महराले खिचेको भिडियो बिनोद बमले सम्पादन गरेका हुन् ।
भिडियोबारे कलाकार स्नेहा जोशीले टिपिकल मौलिक गीतमा काम गर्ने अवसर मिलेको बताइन् । ‘मैले धेरै म्युजिक भिडियोमा काम गर्दैगर्दा यस्ता मौलिकपन झल्किने गीतमा काम गर्दा छुट्टै आनन्द आउँछ । गीतले मनोरन्जन मात्र हैन, अहिलेको नयाँ जेनेरेशनलाई मौलिक शब्दहरुबारे पनि ज्ञान दिएको छ ।’ स्नेहाले आर्टिष्ट खबरसँग भनिन् । ‘मेरो रोजाईमा यस्ता गीतहरु सधैं अग्रपंक्तीमा रहन्छन् ।’
कलाकार स्नेहा नेपाली चलचित्रकी अभिनेत्री पनि हुन् । उनले अहिलेसम्म ५ वटा चलचित्रमा काम गरिसकेकी छिन् भने लगभग २० वटा म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।







१४ मंसिर २०८२, आईतवार १७:१३ 








