काठमाडौं । नेपालभरका संगीतप्रेमी आज स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको ३५ औँ स्मृति दिवस मनाउँदै छन्। नेपाली आधुनिक संगीतलाई अन्तरात्मासम्म छुन सक्ने गहिरो स्वर, भावनात्मक प्रस्तुति र कलात्मक मौलिकताले उचाइमा पुर्याउने कलाकारको रूपमा उनी आज पनि उस्तै प्रेम र सम्मानका साथ सम्झिन्छन्।
नारायणगोपालले गाएका दर्जनौँ कालजयी गीत— ‘मेरो रामकहानी’, ‘पर्खी बसेँ आउला भनी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘ए कान्छा ठट्टैमा’, ‘स्वर्गकी रानी’, ‘लौ सुन म भन्छु’,‘बिछोडको पीडा’, ‘जाग, लम्क, चम्क’, ‘गल्ती हजार हुन्छन्’, ‘अल्झेछ क्यारे पछ्यौरी’ लगायत आज पनि समान रूपमा लोकप्रिय छन्। उनका गीतहरू प्रेम, पीडा, जीवन–दर्शन, सांस्कृतिक भावनादेखि सामाजिक सोचसम्मका गहिरा भावनाले भरिपूर्ण छन्।
स्वर, सङ्गीत र अभिव्यक्तिको अप्रतिम कौशलका कारण ‘स्वरसम्राट्’ उपाधिले सम्मानित नारायणगोपालको निधनपछि महाराजगन्जस्थित उनले बसोबास गरेको घरमा स्थापित नारायणगोपाल सङ्गीत कोष आज विशेष कार्यक्रम गर्दै उनको स्मरण गरिरहेको छ। कार्यक्रममा कलाकार, संगीतकर्मी, उनका श्रोता तथा अनुयायीहरूको सहभागिता रहनेछ।
तीन दशकभन्दा बढी बितिसक्दा पनि नारायणगोपालको स्वर, शैली र सर्जनशीलता नेपाली संगीत आकाशको अविनाशी धरोहरझैं चम्किरहेको छ।







१९ मंसिर २०८२, शुक्रबार १३:२३ 








