‘तरङ्ग’ फिल्म बन्ने

...

काठमाडौँ । नयाँ फिल्म ‘तरङ्ग’ निर्माण हुने भएको छ । फिल्ममा बरुण अधिकारीको मुख्य भूमिका रहने बताइएको छ । उनले ठूलो पर्दामा डेब्यू गर्दैछन् । बरुणले केहि म्युजिक भिडियोमा काम गरेका छन् ।
एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण अब पहिलोपटक फीचर फिल्ममार्फत दर्शकमाझ आउन लागेसँगै उत्साहित देखिएका छन् । फिल्मलाई अभिनेता प्रदीपकुमार चौधरीले डेब्यू निर्देशन गर्दैछन् ।

फिल्मको कथा, पात्र र निर्देशकको विश्वासले आफूलाई ‘तरंग’मा जोडिएको बरुणले बताए । “मेरो भूमिका शक्तिशाली छ। टिमको भरोसा मिहिनेतले उतार्नेछु,” उनले भने । आफ्नो पात्रलाई लिएर दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् ।

यो चलचित्रको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंकै रहेको छ । फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्माता सुजन राई र तर्कराज जोशी रहेका छन् ।

‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा तयार हुने ‘तरंग’ को छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुनेछ । यो फिल्मको छायांकन केही दिनदेखि बेलबारीमा भइरहेको छ । करिब २ करोड रुपैयाँ बजेटमा तयार हुन लागिरहेको चलचित्रको मुख्य भूमिकामा बरुणसँगै रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

चलचित्रका छायाकार महेश पौडेल रहेका छन् भने निर्माण नियन्त्रकको भूमिकामा रिजन परियार छन् । खलनायकका विविध भूमिकाबाट पहिचान बनाएका निर्देशक चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध छन् । उनी पछिल्लो पटक चलचित्र ‘वरिष्ठ बलराम’ मा देखिएका थिए ।

यो सिनेमालाई २०२६ भित्र रिलिज गरिने निर्माणपक्षले बताएको छ ।