काठमाडौँ । नेपाली समाजको वर्तमान राजनीतिक अस्थिरता र त्यसले आम नागरिक तथा जेनजी पुस्तामा पारेको प्रभावलाई एउटै फ्रेममा समेट्ने प्रयाससहित चलचित्र ‘झरिपछिको इन्द्रेणी’ प्रदर्शनको तयारीमा छ। अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा बनेको यो फिल्म पुस्तान्तरणको कथा मात्र होइन, सोचको टकराव र सम्भावनाको खोजसमेत हो।
सानो र ठूलो पर्दामा एक समय राज गरेका गणेश उप्रेती र रमेश उप्रेती लामो समयपछि एउटै फिल्ममार्फत दर्शकमाझ फर्किँदैछन्। अनुभवी कलाकारको कमब्याक र नयाँ पुस्ताका अनुहारको डेब्युले यो फिल्मलाई पुस्ताबीचको संवादजस्तो बनाएको छ। यही संयोजनलाई निर्देशक घिमिरेले कथाको बलियो आधार बनाएका छन्।
फिल्मले जेनजी युवाको असन्तोष, सिस्टमप्रतिको प्रश्न र विदेशिन बाध्य नेपालीको मनोविज्ञानलाई कथावस्तुको केन्द्रमा राखेको छ। अभिनेत्री प्रियना आचार्य (मुन्नी) का अनुसार, फिल्ममा देखाइने जेनजी प्रोटेस्ट र युवाको आक्रोश अहिलेको यथार्थसँग गहिरो रूपमा जोडिएको छ, जसले दर्शकलाई आफ्नै कथा देखेजस्तो अनुभूति गराउनेछ।
यसै फिल्मबाट अभिनेता विमोचन दवाडी र अभिनेत्री जेसिका पोखरेलले नेपाली रजतपटमा औपचारिक डेब्यु गर्दैछन्। नयाँ कलाकारका लागि यो केवल सुरुवात मात्र नभई आफूलाई स्थापित गर्ने अवसर भएको उनीहरूको विश्वास छ।
‘सक्किगोनी’जस्तो लोकप्रिय टेलिसिरियलबाट दर्शकको मन जितिसकेका निर्देशक घिमिरेको यो पहिलो फिचर फिल्म भए पनि उनको कमेडी र समाज पढ्ने अनुभव फिल्मभरि झल्किने अपेक्षा गरिएको छ। दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरीलगायत कलाकारको उपस्थितिले कथालाई थप बलियो बनाएको छ।
नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बनेको ‘झरिपछिको इन्द्रेणी’ आगामी पौष ४ गते देशभर रिलिज हुँदैछ। झरीपछि देखिने इन्द्रेणीझैँ, निराशाबीच आशाको खोज गर्ने यो फिल्मले समसामयिक नेपाली समाजको प्रतिबिम्ब देखाउने दाबी निर्माण टिमको छ।







२८ मंसिर २०८२, आईतवार १२:१६ 








