पोखरा । लोक कला, संस्कृति र मौलिक गीत–संगीतको संरक्षण तथा प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिकालाई अझ व्यवस्थित बनाउने उद्देश्यसहित राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गण्डकी प्रदेशमा आफ्नो संगठन विस्तार गरेको छ। संस्थाले सोमबार पोखरास्थित बर पिपल रिसोर्टमा आयोजना गरिएको विशेष कार्यक्रममार्फत १७ सदस्यीय गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको हो।
संस्थाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज कविराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दीपक अधिकारीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा अनुज अधिकारी, उपाध्यक्षमा सीता बराल, सचिवमा सुरेश सुनार, कोषाध्यक्षमा सुरज आचार्य, सहसचिवमा सुरज अधिकारी तथा सहकोषाध्यक्षमा रिमा शाही ठकुरी चयन भएका छन्।
यसैगरी विभागीय जिम्मेवारी अन्तर्गत प्रचारप्रसार विभाग प्रमुखमा दीप काफ्ले, महिला विभाग प्रमुखमा रेखा पौडेल र प्रवक्तामा गीता तिवारीलाई मनोनयन गरिएको छ। तदर्थ समितिका सदस्यहरूमा बालकाशी गुरुङ, प्रीति गिरी, सुशील श्रेष्ठ, सबिन रेग्मी, आदित्य रसाइली, श्यामप्रसाद काफ्ले र सुबास अम्गाई रहेका छन्।
समिति गठनसँगै आयोजित कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो। माया गुरुङको अध्यक्षतामा रहेको प्रतिष्ठानको टोलीलाई सम्मान गर्दै लोक तथा दोहोरी गीत क्षेत्र र लोक सञ्चारकर्मीबीचको सहकार्यलाई थप मजबुत बनाउने सन्देश दिइएको थियो। सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले कलाकार र पत्रकार नङ र मासु जस्तै एक–अर्काका परिपूरक भएको उल्लेख गर्दै सहकार्य र समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव घनश्याम रिजालले लोक सञ्चारकर्मीहरूको सक्रिय सहयोगकै कारण लोक तथा दोहोरी गीत क्षेत्रमा देखिएका विकृति–विसंगति हटाउन सफलता मिल्दै गएको धारणा राखे।
प्रमुख अतिथि कविराज ढकालले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको स्थापना वि.सं. २०६५ मा भएको जानकारी दिँदै केन्द्रिय समितिको निर्णयअनुसार प्रदेश हुँदै जिल्लासम्म संगठन विस्तार गर्ने रणनीति अघि बढाइएको बताए। गण्डकी प्रदेश सांस्कृतिक विविधता, लोक कला र परम्पराको उर्वर भूमि भएकाले यहाँ शाखा विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो। साथै उनले संस्थाले पत्रकारको हकहित संरक्षण, संगठन सुदृढीकरण, विकृति–विसंगति विरुद्ध खबरदारी तथा मौलिक गीत–संगीत संरक्षणमा खेलेको भूमिकाबारे समेत प्रकाश पारे।
कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल गण्डकी प्रदेशका सहइन्चार्ज सञ्जय पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष राजाराम पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नवगठित समितिको सफल कार्यकालको कामना गरे।
दीपक अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य गौरव त्रिपाठीले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव सुरेश सुनारले गरेका थिए। नवगठित तदर्थ समितिलाई राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतमले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।







१ पुष २०८२, मंगलवार १०:२४ 








