काठमाडौँ । चलचित्र ‘आ बाट आमा’ ले प्रदर्शन मिति नजिकिँदै जाँदा आफ्नो प्रचार प्रसारलाई तीव्र बनाएको छ। प्रचारकै क्रममा सोमबार फिल्मको भावनात्मक गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक गरिएको थियो।
यसै सिलसिलामा मंगलबार चलचित्रकी मुख्य अभिनेत्री विपना थापा र अभिनेता पल शाह सुदूरपश्चिम महोत्सवमा सहभागी भई फिल्मको प्रचारमा जुटेका छन्। महोत्सवमा उपस्थित हजारौँ दर्शकहरूमाझ उनीहरूले फिल्ममा समावेश गीतमा अभिनय प्रस्तुत गर्दा माहोल निकै उत्साहजनक बनेको थियो।
गाउँ–गाउँबाट आएका दर्शकहरू पर्दाका चर्चित कलाकारहरूलाई प्रत्यक्ष देख्न पाउँदा निकै उत्साहित देखिए। दर्शकहरूले विपना र पललाई हुटिङसहित न्यानो स्वागत गरे भने उनीहरूको प्रस्तुतिलाई खुलेर प्रशंसा गरे।
चन्द्र पन्त को निर्देशनमा बनेको यस चलचित्रमा विपना थापा र पल शाहसँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारहरूको अभिनय रहेको छ।
भावनात्मक कथावस्तु बोकेको चलचित्र ‘आ बाट आमा’ आगामी माघ १६ गते बाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।







२ पुष २०८२, बुधबार १५:१३ 








